जिल्ला सभापतिहरूको भेलामा सभापति देउवा अनुपस्थित
काठमाडौँ । १४ औँ महाधिवेशनपछि नेपाली काँग्रेसले बिहीबार पहिलो पटक जिल्ला सभापतिहरूको भेलाको आयोजना गरेको छ ।
पार्टी सभापति शेरबहादुर देउवाको सहमतिमा महामन्त्री द्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको पहलमा भएको भेलामा देउवा नै अनुपस्थित रहे । ६५ भन्दा बढी जिल्लाका सभापति सहभागी भएको भेला सदस्यता वितरण, नवीकरण र अभिलेखीकरणमा आउन सक्ने समस्यालाई समाधान गर्ने प्रयोजनका लागि राखिएको थियो । तर भेलाको मूल विषयलाई छाडेर जिल्ला सभापतिहरू भने सरकारको कामकारबाही बारे असन्तुष्टि व्यक्त गरेका थिए ।
बैठक पछि काँग्रेस केन्द्रीय मीन विश्वकर्मा भेलामा सरकारको कारबाही बारे प्रश्न उठेको बताए ।
उनले भने ‘ भेलामा सरकारको विषयमा साथीहरूले कुरा उठाउनु भयो , छलफल पनि भयो , प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्ति पनि सही होइन भन्ने कुरा उठ्यो ।
आगामी असार २७ गते बोलाइएको केन्द्रीय समिति बैठकअघि बोलाइएको जिल्ला सभापतिहरूको भेलाले काँग्रेस भित्र नयाँ तरङ्ग उत्पन्न गरेको छ ।
यता महामन्त्री गगनकुमार थापाले भेला महत्त्वपूर्ण भएको बताए ।
उनले भने ‘ भेला धेरै अर्थमा महत्त्वपूर्ण छ , भेला बोलाउन आवश्यक पनि थियो । ’
सभापति देउवा भेलामा अनुपस्थित हुनुलाई भने भेलामा सहभागीहरूले अर्थपूर्ण रूपमा लिएका छन् ।















