राजु मास्टर र बल्छी धुर्वे लगायतका कलाकारहरुलाई एक बर्ष थुन्न प्रहरीको राय

काठमाडौं / अनलाइनमा जुवा खेलाएको आरोपमा पक्राउ परेका चर्चित आठ कलाकारलाई एक वर्ष कैद र दश हजार रुपैया जरिवाना गर्न नेपाल प्रहरीले राय दिएको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गत जेठ ३२ गते मरिचमान श्रेष्ठ (बल्छी ध्रुब्रे) राजु पौडेल (राजुमास्टर), पवन खतिवडा (म्याकुरी), बेगम नेपाली (भटभटे माइला) युट्युबर अलिश राई, युट्युबर जलन घर्तीमगर (जलन), गणेश देवकोटा (जिडी) र सरोज घिमिरे (ढेडो बुढो)लाई पक्राउ गरेको थियो ।
उनीहरुलाई वान एक्स बेटलाई प्रवर्द्धन गरेको आरोपमा पक्राउ गरिएको थियो। पक्राउ परेका कलाकारमाथि अनुसन्धान पुरा गरे पछि प्रहरीले यस्तो राय दिएको हो।
काठमाडौं प्रहरी परिसरले बुधबार अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयलाई बुझाएको हो । काठमाडौं प्रहरीका अनुसार कलाकारलाई एक वर्षसम्म कैद र १० हजार रुपैयाँसम्म जरिवाना सजायको माग गर्न सरकारी वकिललाई राय दिइएको छ। सरकारी वकिलले अनुसन्धान प्रतिवेदन अध्ययन गरेर अभियोग पत्र दर्ता गर्नेछन् ।
मुलुकी फौजदारी अपराध संहिता २०७४ को दफा १२५ को उपदफा ४,५ र ६ बमोजिम सजाय मागदावी गर्न राय दिइएको हो । युट्युबर तथा कलाकारले वान एक्स बेटको प्रोमो कोड प्रयोग गरेर सट्टेबाजीलाई प्रवर्द्धन गरेको प्रहरीको दाबी छ ।
प्रोमो कोड प्रयोग गरेबापत उनिहरुले सट्टेबाजी गर्ने कम्पनीबाट पैसासमेत प्राप्त गरेको दाबी गरिएको छ ।