नेकपा एमालेले दुबै सदन अवरुद्ध गरेपछि मिटर ब्याज सम्बन्धि अध्यादेश निष्क्रिय

काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको विवादास्पद अभिव्यक्तिलाई लिएर नेकपा एमालेले दुबै सदन अवरुद्ध गरेपछि मिटरब्याज सम्बन्धि अध्यादेश निष्क्रिय भएको छ ।
सरकारले मिटरब्याजलाई अनुचित लेनदेनका रुपमा कानुनी परिभाषा गर्दै यस्तो लेनदेनलाई दण्डनीय मानेर मौजुदा कानूनमा संशोधन गर्दै गत बैशाख २० तगे अध्यादेश जारी गरेको थियो ।
कानूनबमोजिम अध्यादेश जारी भएको ६० दिनभित्र मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८० को प्रतिस्थापन विधेयक संसद्का दुवै सदनबाट पारित भइसक्नु पर्ने प्रावधान छ । यही प्रावधान अनुरुप प्रतिनिधिसभाको बुधबारको बैठकमा प्रतिस्थापन विधेयक पेश गर्ने कार्यसूची रहेको थियो । तर बैठक अवरुद्ध भएपछि यसअघि ल्याइएको अध्यादेश नै स्वतः निष्क्रिय हुँदा मिटर व्याज सम्बन्धि अध्यादेश निष्क्रिय भएको छ ।
राष्ट्रियसभाले असार १५ गते अध्यादेशको प्रतिस्थापन विधेयक पारित गरेर प्रतिनिधिसभामा पठाएको थियो । प्रतिनिधिसभाले बुधबारसम्म पारित गरेर राष्ट्रियसभामा पठाउनुपर्ने थियो । यही अनुरुप बुधबार प्रतिनिधिसभामा विधेयक पेश गर्ने तयारी थियो । तर प्रधानमन्त्री दाहालले दुई दिन अघि आफुलाई प्रधानमन्त्री बनाउन प्रितम सिंह नाम गरेका व्यक्ति भारतको नयाँ दिल्ली गएको विवादास्पद अभिव्यक्ति दिएका थिए । आफुलाई प्रधानमन्त्री बनाउन उनको र भारतको हात रहेको पनि दाहालले निसंकोच बताएका थिए ।
यहीलाई मुद्दा बनाएर एमाले सदन अवरुद्ध गरेपछि मिटर व्याज सम्बन्धि अध्यादेश निष्क्रिय भएको हो । बुधबार दिउँसा एक कार्यक्रममा एमालेले मिटर व्याज सम्बन्धि अध्यादेशलाई निष्क्रिय गराउन नै संसद अवरुद्ध गर्न लागेको दावी गर्दै प्रितम सिंहको बारेमा भनिएको भनाइको गलत अर्थ लगाइएको जिकिर गरेका थिए ।