पूर्व माओवादीहरु बीच एकता हुँदैछ,२०६४ को भन्दा बलियो शक्ति बन्दैछौं : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सबै माओवादीहरु एकत्रित भएर २०६४ सालको भन्दा बलियो शक्ति बन्ने दाबी गरेका छन् ।
बुधवार पार्टी निकट अखिल क्रान्तिकारीको स्ववियु काउन्सिलको भेलालाई सम्बोधन गर्दै उनले माओवादीहरु विभाजित हुँदा विभिन्न शक्तिले माओवादीलाई सिध्याउन भ्रम छरेको आरोप लगाए ।
उनले भने, ‘२०६४ को निर्वाचनमा हामीले राम्रो परिणाम ल्यायौं। तर, २०७० मा आउँदा माओवादी आन्दोलन विभाजित भयो ।त्यसपछि प्रतिक्रियावादीले भ्रम छर्ने,घेरा हाल्ने,बदनामा गर्ने षडयन्त्रलाई तीव्र पारे । पार्टी भित्रको एकतालाई रक्षा गर्न सकेनौं । पार्टी टुटफुट र विभाजनले आन्दोलन कमजोर भयौं,अब हेर्दै जानुहोला माओवादी आन्दोलनलाई केही समय भित्र सबै माओवादीहरु एउटै केन्द्रमा आउने,सबै संगठनहरु एउटै केन्द्रमा बन्ने र पहिला भन्दा धेरै परिपक्क,शक्तिशाली र दीगो आन्दोलनको रुपमा यसको विकास हुनेछ ।’
उनले माओवादीहरु सबै एकै ठाउँमा आएर ठूलो शक्ति निर्माण हुने दाबी पनि गरे ।
विभाजनले हामीलाई कमजोर बनाएकै हो । जुन अब विस्तारै निषेधको निषेध हुँदै विभाजन एकतामा जाँदै छ ,हामी बलियो हुँदै छौं । अव हेर्नुहोला सबैको एकता भैसकेपछि हामी २०६४ भन्दा बलियो बन्छौ र नयाँ परिस्थिति बन्छ ।’
प्रधानमन्त्री दाहालले नेकपा माओवादी केन्द्र कमजोर भए पनि देशको राजनीति आफ्नै हातमा रहेको बताए । राम्रो काम गरेकोले अरुलाई नपचेको बताएका उनले ललिता निवास प्रकरणमा भ्रष्टाचारको थप फाइल खोल्ने र कारवाही गर्न पछि नहट्ने बताए ।
उनले भने, ‘सरकारको नेतृत्व लिएदेखि नै देश र जनताको पक्षमा दृढतापूर्वक काम गर्ने अठोट गरिरहेको छु। भ्रष्टहरूमाथि कार्रबाही सुरू भएको छ। ललिता निवासको फाइल फेरि खोलिएको छ। यो प्रकिया रोकिन्न, हेर्दै जानुहोला– थप फाइलहरू खोलिन्छ र कार्वाही गरिन्छ।’