छेन्दुबाट पोखरा र भैरहवामा व्यवसायिक उडानका लागि चीन सकरात्मक : गृहमन्त्री श्रेष्ठ
काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले, चीनको अधिकारकर्मीहरुसँग छेन्दुदेखि पोखरा र भैरहवामा व्यवसायिक उडानका लागि चीन तयार रहेको बताएका छन् ।
पाँच दिने चीन भ्रमणबाट फर्किएपछि पत्रकारहरुसँग कुराकानी गर्दै उनले काठमाडौंको उडानलाई सातै दिन नियमीत गर्न र व्यवसायिक उडानको विषयमा छलफल भएका भन्दै यसमा चीन पक्ष सकारात्मक भएको बताए ।
उनले भने, ‘त्यस्तैगरी सिचुवान एयरलाइन्ससँग काठमाडौंको उडानलाई हप्ताको सातै दिन नियमित उडान गर्न अनुरोध गरेका छौ र त्यसमा सकारात्मक वचन दिनु भएको छ । त्यसैगरी छेन्दु पोखरा व्यवसायिक उडानको लागि र छेन्दु र भैरवा पनि व्यवसायिक उडानका लागि अगाडी बढ्नु प¥र्यो भनेर गरेको अनुरोधमा सकारात्मक भएर सोचेको छ ।’
उनले २०१७ मा हस्ताक्षर भएको बीआरआई प्रोजेक्टको बारेमा ठोस योजनाबारे छलफल गरेर त्यसलाई टुङ्गो लगिएको भन्दै उनले यसबाट पनि लाभांवित हुन सक्ने आशा लिएको बताए ।
उनले भने, ‘बीआरआईको सन्दर्भमा पनि बीआरआईलाई हामीले २०१७ मा हस्ताक्षर गरेका थियौ । त्यसपछि यसलाई कार्यान्वयन गराउने योजनालाई फाइनल गर्न हामी ले दुई पक्षको बीचमा छलफल र ड्राफ्टहरु आदान प्रदान पनि गरिरहेका छौ । त्यसलाई अन्तिम रुप दिईसकेपछि हामीले बीआरआईको प्रोजेक्टको बारेमा ठोस प्रोजेक्टहरु र मोड्यालिटिको बारेमा छलफल गरेर त्यसलाई टुङ्गो लगाउँदै छौ र बीआरआईबाट पनि हामी लाभांवित हुन सक्ने आशा लिएका छौ । ’
गृहमन्त्री श्रेष्ठले भ्रमणमा चीन र नेपालको लामो समयदेखिको सम्बन्धलाई अझ सुदृढ गर्न र विकास, व्यापारका र लगानीका क्षेत्रमा सम्भावनाहरुका बारेमा भएको महत्वपूर्ण छलफलहरु सकारात्मक नै भएका बताए ।














