निर्वाचन आयोगले व्यापक दवाव पछि मनोनयन शुल्क घटायो, आवेदन दिने समय एक दिन थप
पेन्सिलभेनिया,अमेरिका / उमेदवारको व्यापक विरोध पछि गैरआवासिय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) अमेरिका अन्तर्गत निर्वाचन आयोगले दरखास्त दस्तुर घटाएको छ।
‘एनआरएन अमेरिका एन सी सी को बिशेष आग्रह र च्याप्टर पदाधिकारिको अनुरोधलाई मध्य नजर गर्दै दरखास्त दस्तुरमा पुनरावलोकन गरिएको छ।’ आयोगद्वारा मंगलवार मध्यरातमा जारी गरिएको सूचनामा उल्लेख छ।
निर्वाचन आयोगले च्याप्टर अध्यक्ष पदका लागि एक हजार अमेरिकी डलर मनोनयन शुल्क तोकेको थियो। तर व्यावक विरोध पछि अब उनीहरुले तीन सय डलरको राहत पाएका छन्।
आयोगले अब च्याप्टर अध्यक्षका लागि सात सय डलर मनोनयन शुल्क कायम गरेको छ। च्याप्टर उपाध्यक्षका लागि पाँच सय र सचिवका लागि चार सय डलर तोकिएको छ। सचिवले चार सय, कोषाध्यक्ष तीन सय, युवा र महिला कोअडिनेटरले दुई सय तथा सदस्यले एक सय डलर मनोनयन शुल्क तिर्नु पर्ने छ।
आयोगले निर्वाचन मनोनयन दस्तुर एनआरएनए अमेरिकाको खातामा नै जम्मा हुने प्रस्टाएको छ।
‘पहिले तोकिएको दस्तुर तिरिसकेका उमेद्वारको हकमा नयाँ दस्तुर नै कायम हुने र तिरिएको बढी रकम अमेरिका एनसीसीले फिर्ता दिने जानकारी गराईन्छ ।’ सूचनामा भनिएको छ, ‘जम्मा भइ सकेको रकममा आयोगको कुनै संलग्नता नरहने समेत सुचित गरिन्छ।’
यसैगरि आयोगले उमेदवारको मनोनयन आवेदनका लागि एक दिनको समय समेत थप गरिएको छ। निर्वाचन आयोगले मंगलवार देखि उमेदवारी मनोनयन शुरु गरेको थियो। यस अगाडि जुन २८ तारिक बुधवार मध्यरात सम्मको समय तोकिएको थियो।
‘आवेदकहरुको सहजताको लागी निर्वाचन आयोगले आवेदनको लागी एकदिन थप गरेको जानकारी गराइन्छ।’ आयोगको सूचनामा उल्लेख छ। नयाँ परिवर्तित समय: जुन २९, २०२३ न्यु योर्क समय बेलुका ६ बजे सम्म कायम रहने छ।
आयोगले परिबर्तित रकमलाइ इ-फर्ममा समाबेस गर्नुपर्ने हुदा अब केहि समयका लागि इ-फर्म आबेदन पोर्टलमा रोकावट हुने जनाएको छ।













