खेलकुदको विकासका लागि सवै एक हुनुपर्छ : मन्त्री लिम्बू

काठमाडौं । युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूले खेल क्षेत्रमा राजनीतिकरण नगर्न सवैलाई आग्रह गरेका छन् । प्रधानमन्त्री कप तेस्रो राष्ट्रव्यापी ब्याडमिन्टन प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री लिम्बूले खेलाडीहरुको विकास गर्नको लागि व्यक्तिगत स्वार्थ र दलीय विचारलाई तलै राखेर अघि बढ्नु पर्नेमा जोड दिए ।
उद्घाटनका क्रममा उनले भने ‘यो खेल क्षेत्रमा राजनीतिकरण नगरिकन समग्र खेलाडीहरुको वृद्धि विकासका लागि खेलाडीहरुलाई वातावरण दिएर अगाडि बढाउनको लागि व्यक्तिगत स्वार्थ र हाम्रो दलीय विचारहरुलाई तल राखेर हामी अगाडि बढ्न सक्ने अवस्थाको निमार्ण गर्नुपर्छ ।’
यसैगरी, मन्त्री लिम्बूले देशमा सुशासन कायम र भ्रष्टाचार अन्त्य गर्नको लागि युवाहरुको खेलमा मात्रै होईन, राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक क्षेत्रमा पनि सशक्त उपस्थिति हुनु पर्नेमा जोड दिए ।
‘खेल प्रवद्र्धनको लागि मन्त्रालयले विद्यालय स्तरमा गएर खेल शिक्षा दिएर बजेट पनि छुट्टाएको अवस्था छ । युवा खेलमा मात्रै होईन, राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक क्षेत्रमा सशक्त उपस्थिति हुनु आवश्यक छ त्यसो भयो भो मात्रै हो देशमा सुशासन कायम र भ्रष्टाचार अन्त्य हुन सक्छ ।’ उनले भने ।
यसैगरी खेल क्षेत्रलाई पर्यटनसँग पनि जोड्न सकिने उनको भनाई थियो । खेल क्षेत्रको विकासको लागि निजी क्षेत्रहरुको पनि भूमिक आवश्यक भएको हुदाँ निजी क्षेत्रहरुलाई पनि स्थान दिएर अगाडि बढ्नु पर्ने बताए ।