सरकार खेदकुदको माध्यमबाट युवाको जीवन परिर्वतन गर्ने अभियानमा छ : मन्त्री लिम्बु

काठमाडौं । युवा तथा खेदकुद मन्त्री डिग बहादुर लिम्बुले सरकार खेदकुदको माध्यमबाट युवाहरुको जीवन परिर्वतन गर्ने अभियान रहेको बताएका छन् ।
प्रतिनिधि सभा बैठकमा आफ्नो मन्त्रालयबाट विनियोजित बजेटबारे उठेका प्रश्नको जवाफ दिदैँ उनले लागूऔषधमा फसेका युवाहरुलाई खेलकुदको माध्यमबाट जीवन परिवर्तन र स्वस्थ तथा सक्षम नागरिकको रुपमा विकास गर्ने लक्ष्यसहित मन्त्रालयले विभिन्न कार्यक्रम बनाएको दाबी गरे ।
उनले भने, ‘खेलकुदबाट लागूऔषधमा फसेका युवाहरुलाई पनि बचाउन सकिने हिसाबले युवाहरुलाई खेलकुदको माध्यमबाट उनिहरुको जीवन परिवर्तन गर्ने स्वस्थ र सक्षम नागरिकको रुपमा विकास गर्ने लक्ष्य पनि लिएको छ ।’
मन्त्रालयले राष्ट्रिय युवा परिषद् मार्फत समाजमा व्यापक सामाजिक कुरिति र विसंगति विरुद्ध सामाजिक जागरण र चेतना अभिवृद्धि गर्दै सामाजिक रुपान्तरण र समृद्धिको लागि युवा परिचालन गर्ने योजना बनाएको उनको भनाई छ ।
‘राष्ट्रिय युवा परिषद् मार्फत युवाहरुको क्षेत्रमा कार्यरत संघ संस्था तथा सञ्जालहरु प्रयोग गरी समाजमा व्यापक सामाजिक कुरीति र विसंगति विरुद्ध सामाजिक जागरण र चेतना अभिवृद्धि गर्दै सामाजिक रुपान्तरण र समृद्धिको लागि युवा परिचालन गर्ने समेत योजना ल्याइएको छ ।’
यस्तै, उनले खेलकुलको पूर्वाधार निमार्णका विषयमा थुप्रै मागहरु आएपनि मागहरुलाई सम्बोधन गर्न सक्ने अवस्था नरहेको जानकारी गराएका छन् ।
उनले खेलकुद मन्त्रालयमा बजेट कम आएपनि स्थानिय तहको साझेदारीमा चालु रहेका एक पालिका एक खेलको नीति आयोजनाका लागि भने बजेट विनियोजन गरिएको बताए ।
उनले भने, ‘यो मन्त्रालयमा प्राप्त भएको बजेट कम भएको विषयमा सदनमा कुरा उठेको सकारात्मक नै छ । आर्थिक वर्ष २०७६,७७ देखि नै एक पालिका एक खेलको नीति ल्याइ, स्थानिय तहमा खेलकुदको पूर्वाधार निमार्ण गर्ने अयोजना लागू रहेको छ, स्थानिय तहको साझेदारीमा चालु रहेका यस्तो १७० वटा आयोजनाका लागि बजेट विनियोजन गरिएको छ ।’
नेपाली खेलकुद क्षेत्रलाई सुधार गर्नको लागि खेलाडीहरुको गुनासो सुनुवाई गर्ने विशेष लक्ष्य पनि मन्त्रालयले लिएको उनको भनाई छ ।