प्रलोभनमा पारेर धर्म परिर्वतन गराउने काम मान्य हुँदैन : गृहमन्त्री श्रेष्ठ
काठमाडौं । गृहमन्त्री नारायणकाजी श्रेष्ठले दवाव र प्रलोभनमा पारेर धर्म परिर्वतन मान्य नहुने बताएका छन् ।
आइतवार संघीय संसदको प्रतिनिभिसभा बैठकमा सांसदले सोधेका प्रश्नको जवाफ दिदैँ उनले वैयत्तिक आस्थामा आधारित, धर्मजस्तो संवेदनशिल विषयमा प्रचारात्मक अभियान चलाइएको विषयप्रति राज्य गम्भिर रहेको बताए ।
‘व्यक्तिको आस्थाको विषय रहेको धर्मजस्तो संवेदनशील विषयमा प्रचारात्मक अभियान चलाएर बस्तीका बस्तीनै धार्मिक रुपान्तरणको प्रकृयामा जाने स्थितिको बारेमा भने राज्य र हामी सबै संवेदनशील हुनुपर्ने अवस्था छ भन्ने मान्यज्यूहरुको ध्यानाकर्षण प्रति सरकार गम्भिर रहने छ।’ उनले भने, ‘दवाव वा प्रलोभनमा कुनै मिसनमा आधारित भएर गरिने कुनै पनि प्रकारको धर्म प्रचारको अभियानलाई निर्वाध छोड्न सकिदैन् । यो कुरामा सरकार गम्भीर छ र रहन्छ ।’
सांसदहरुले धर्म निरपेक्षता, धार्मिक स्वतन्त्रता तथा धर्मान्तरणको पक्षमा सरकारको ध्यान आकर्षित भएको उल्लेख गर्दै उनले धार्मिक स्वतन्त्रतालाई सम्मानका साथ सुनिश्चित गर्ने बताए ।
उनले धार्मिक आस्था र स्वतन्त्रता नागरिकको आफ्नो विषय भएकाले नागरिकलाई कुनै धार्मिक दवाव र करकापबाट मुक्त रही, आफ्नो धार्मिक आस्था र विस्वास अनुसार जीवन आचरण अगाडि बढाउन उपयुक्त वातावरण निर्माण गर्नेमा सरकार दृढ निश्चयी भएको समेत उल्लेख गरे ।














