विश्वकप छनोट : आश गरेको खेलमा नेपालको निराशाजनक प्रदर्शन,डच टोलीको सहज जित
काठमाडौं । सुपरसिक्सका लागि निर्णायक मानिएको खेलमा नेपालले नेदरल्याण्ड्ससँगको खेल खराबरुपमा गुमाएको छ । दुई पटकको विश्व च्याम्पियन वेष्टईण्डिजसंँग बहादुरीपूर्ण प्रदर्शन गरेर सम्मानजनक हार स्वीकार गरेको नेपालले शनिबार जम्नु पर्ने खेल सात विकेटले गुमाएको छ ।
नेपालको न ब्याटिङ चल्यो न बलिङ नै । जस्को कारण नेपालले खेल सात विकेटले नेदरल्याण्ड्सलाई सुम्पेको छ ।
टस हारेर पहिलो व्याटिङका लागि उत्रिएको नेपालले निर्धारित ५० ओभरमा ४४ ओभर ३ बलमा १६७ रन जोड्दा सबै विकेट गुमाएको थियो ।
नेपालका लागि कुनै पनि व्याट्सम्यानले अर्धशतकीय योगदान समेत गर्न सकेनन् । तीन व्याट्सम्यानले दोहोरो अंक समेत जोड्न नसक्दा कप्तान रोहित पौडेलले सर्वाधिक ३३ रनको योगदान गरे । उनले ५५ बलको सामना गरेर ३ चौका र १ छक्काको सहयोगमा उक्त रन बनाए । यस्तै ओपनर कुशल भुर्तेल र सन्दीप लामिछानेले समान २७÷२७ रन बनाए । भुर्तेलले ४२ बल खेलेर २ चौकाको सहयोग लिंदा लामिछानेले ३३ बलमा ४ चौकाको सहयोग लिए ।
अन्य व्याट्सम्यानहरुमा भीम सार्की २२, गुल्सन झा १५, दीपेन्द्रसिंह ऐरी १४, कुशल मल्ल १२ को योगदान गरे । यस्तै आरिफ शेख ६,करण केसी १ रन बनाउँदा आसिफ शेखले खाता पनि खोल्न सकेनन् । डच बलर लोगान भान विकले नेपालको सर्वाधिक ४ विकेट खासेका थिए ।
जिम्बाबेको ताकासिंगा क्रिकेट मैदानमा १ सय ६८ रनको सामान्य लक्ष्य लिएर जवाफी व्याटिङमा उत्रिएको डच टोलीले २७ ओभर १ बलमा ३ विकेटको खर्चमा लक्ष्य पूरा गर्यो । नेपालका लागि नेदरल्याण्ड्सका ओपनर म्यास्क ओडाउड मंहगो सावित भए । उनले ९० रन बनाए । जुन जितको लागि काफी थियो । उनले ७५ बल खेलेर ८ चौका र ४ छक्काको सहयोगमा उक्त रन निर्माण गरे ।
शतक बनाउन कसिएका ओडाउडलाई गुल्सन झाले बोल्ड गरेका थिए । यस्तै बास डि लिडले आफ्नो टोलीका लागि ४१ रन बनाउँदा सन्दीप लामिछानेले विक्रमजीत सिंह ( ३० ) र वास्ले बारेसी ( ३ ) को महत्वपूर्ण विकेट लिए । सन्दीपले १० ओभर खेलेर ६० रन दिइ दुई विकेट लिए । अन्य व्याट्सम्यान जम्न सकेनन् । आश गरेको खेलमा निराशाजनक प्रदर्शन गर्दा नेपालले सुपर सिक्स खेल्ने मौका गुमाएको छ ।














