साफ च्याम्पियनसिपमा नेपाल पहिलो खेलमै पराजित
काठमाडौँ । भारतमा सुरु भएको साफ च्याम्पियनसिप फुटबलको बुधबार भएको उद्घाटन खेलमा साविक उपविजेता नेपालले आमन्त्रित टिम कुवेतसँग ३–१ को हार बेहोरेको छ ।
भारतको बेंगलुरुस्थित श्री कान्तिरेभा रंगशालामा सम्पन्न खेलमा कुवेतलाई जित दिलाउन खलिद हाजिया, सबाइब अलखाल्दी र मोहम्मद अब्दुल्लाहले एक–एक गोल गरे ।
नेपालका लागि अञ्जन विष्टले एक गोल फर्काएका थिए । कुवेतले पहिलो हाफमै नेपालविरुद्ध दुई गोल गरेको थियो । खेलको ६७औं मिनेटमा नेपालका अन्जन बिष्टले कुवेतका तीन डिफेण्डर र गोलरक्षकलाई छक्याउँदै बक्स भित्रबाट गरेको शानदार गोलनै सान्त्वना गोल बन्यो । योसँगै अन्जनले आफ्नो अन्तर्राष्ट्रिय गोलसंख्या १२ पुर्याएका छन् ।
उनी नेपालका लागि सर्बाधिक गोल गर्ने तेस्रा खेलाडीसमेत हुन् । हरि खड्का र निराजन रायमाझीले सर्वाधिक १३ गोलको कीर्तिमान बनाएका थिए ।














