एनआरएनए मिलापत्र ‘छापामार शैलिको सहमति र उत्पन्न असन्तुष्टि’
सन् २००३ मा स्थापना भएको गैरआवासीय नेपाली संघ (एनआरएनए) गत वर्ष चुनाव हुँदा दुई समूहमा विभाजन भयो । पूर्व अध्यक्ष शेष घले संरक्षक रहेर दक्षिण कोरिया बस्दै आएका विनोद कुँवर अध्यक्ष भएको कमिटी याक एण्ड यतिमा भएको सम्मेलनले घोषणा गर्दा ललितपुरको होटेल हिमालयनमा भएको सम्मेलनले ३ जना अध्यक्ष रहेको जम्बो कमिटी गठन गरेको थियो ।
एनआरएनएमा राजनीति घुसेको भन्दै ३ जना अध्यक्षलाई कटाक्ष गरिए पनि उनीहरुले आलोपालो गरेर नेतृत्व हस्तान्तरण गरे भने आउँदो अक्टोबरमा अधिवेशन गर्ने तयारी पनि अघि बढी रहेको छ । यसबीचमा त्यतबेलै छुटेको विनोद कुँवर समूह अहिले एकाएक मिल्ने वातावरण बनेको छ । विगतमा कुन कारणले फुटेका थिए अहिले किन मिले भन्ने प्रश्नको जवाफ अहिले दुवै पक्षबाट आइसकेको छैन ।
तर, अहिले सत्तामा रहेको माओवादीको पुरानै छापामार शैलीमा बालुवाटारमा एनआरएनका दुई पक्ष संस्थापन र संस्थापन इतर भनौं एकाएक सहमति गरेर बाहिरिएका छन् । तर, यो सहमति कार्यान्वयन हुने कुरामा दुवै पक्ष अहिले नै विश्वस्त भने देखिएको छैन ।
विधान अनुसार महाधिवेशन गर्न एनआरएनएलाई परराष्ट्रमन्त्री साउदको आग्रह
एकले अर्कालाई झुक्याएर सहमति गराएको भन्दै आफू निकटकालाई बताउने गरेको बुझिएकोछ । हुन त यो सहमतिको मसी त सुकिसकेको छैन । तर आसन्न अक्टोबरको आइसीसी सम्मेलनको तयारी अघि बढेको र विभिन्न देशमा एनसीसीहरुको चुनावी कार्यतालिका प्रकाशित भइसकेका बेला भएको यो सहमतिले कार्यतालिका प्रभावित हुन्छ या हुँदैन त्यो एक दुई दिनमा तय हुने बुझिएको छ । सहमति पछि अहिले झट्ट बुझ्दा एनआरएनएमा ३ जना अध्यक्ष थिए, अर्का एक जना थपिए र अब अध्यक्षको संख्या ४ पुग्यो ।
वास्तवमा बाहिर देखिएको यस्तो भए पनि यसको भित्रि भने राजनीतिक कारण नै हो । कुल आचार्य र रविना थापा नेपाली कांग्रेस निकट हुन् भने बद्री केसी हाडखोर एमालेको रुपमा अधिवेशनका बेला चिनिएका थिए । विनोद कुँवर माओवादी निकट मानिन्छन् । विगतमा अधिवेशन उद्घाटनका लागि कांग्रेस र एमालेका नेताहरुले याक एण्ड यतिको सम्मेलनको उद्घाटनका लागि माओवादी नेता जनार्दन शर्मा (अर्थमन्त्री) पुगेका थिए । तर, अर्को पक्षले वहिष्कार गरेकाले त्यो अधिवेशन उद्घाटन गरेर निस्किएका जनार्दन त्यसपछि अन्य कार्यक्रममा देखिएनन् ।
पछिल्लो सहमतिपत्रमा संस्थापन पक्षका गैरआवासीय नेपाली संघका कार्यकारी अध्यक्ष डा। बद्री केसी, उपाध्यक्षद्वय डिबी क्षेत्री र आरके शर्मा तथा विपक्षी पक्षले स्थापना गरेको नयाँ संस्थाका अध्यक्ष विनोद कुँवरले हस्ताक्षर गरेका छन् । दुवै पक्षबीच चारवटा बुँदामा सहमति भएको छ ।
गत वर्ष भएको महाधिवेशनमा पूर्वअध्यक्ष शेष घलेले आफूअनुकूल संस्थानको नेतृत्व नहुने भएपछि नयाँ संस्था नै खोलेका थिए ।
परराष्ट्रमन्त्री एनपी साउदले गैरआवासिय नेपाली संघ (एनआरएनए) लाई विधानअनुसार महाधिवेशन गर्न आग्रह गरेका छन् । एनआरएनएको संस्थापन पक्ष र १०औं महाधिवेशनमा असन्तुष्ट भएको पक्षका प्रतिनिधिलाई उनले आइतबार विधानअनुसार महाधिवेशन गर्न आग्रह गरेका हुन् ।
परराष्ट्र मन्त्रालयमा आइतबार संयुक्त रुपमा आएका दुवै पक्षका प्रतिनिधिहरुलाई मन्त्री साउदले विधान स्पष्ट बनाएर महाधिवेशनमा जान सुझाव दिए । ‘हाम्रो स्पष्ट सोच छ । पहिला तपाईंहरू विधानमा क्लियर हुनुप¥यो,’ साउदले भने, ‘विधानअनुसार एउटा प्रक्रियाले मान्छे छनौट हुन्छ । कोही हार्छ कोही जित्छ । सबैभन्दा पहिले विधान क्लियर हुनुपर्छ ।’
उनले परराष्ट्र मन्त्रालय र एनआरएनएबीचको सम्बन्ध स्पष्ट र विवादरहित हुनुपर्नेमा समेत जोड दिए । ‘हामीहरुको तपाईंहरूसँगको सम्बन्ध के हो, त्यो क्लियर हुनुपर्छ । तपाईंहरु र हाम्रो सम्बन्ध विवादग्रस्त हुनहुन्न,’ मन्त्री साउदले भने, ‘हामीले भोलि कुनै पनि निर्णय गर्दा तपाईंहरुको विधानबमोजिम हामीले त्यसमा एक्सन गर्ने हो ।’
प्रधानमन्त्रीको रोहवरमा दुई एनआरएनए बीच ‘एक हुने’ सहमति (सहमति पत्र सहित)
कुँवर पक्षले पहिला आफूहरुले परराष्ट्र मन्त्रालयमा पेश गरेको विधान प्रमाणीकरण गर्नुपर्नेमा जोड दिएको छ । खासगरी एनआरएनएभित्रकै माओवादी प्रतिनिधिहरुको जोडबलमा अहिले सहमति भएको बुझिएको छ । एनारएनएको चुनावका लागि नेपाली कांग्रेस निकट केशव पौडेल, महेश श्रेष्ठ, हेमराज शर्मा लगायतले चुनावी तयारी गरेका छन् भने माओवादीले अहिले कार्यसमितिमा उपाध्यक्ष रहेका कतार बस्ने आरके शर्मालाई अघि बढाउने तयारी गरेको छ । यस्तैमा विनोद कुँवरले कस्तो भूमिका खेल्छन् र अहिलेकै अवस्थामा माओवादीका प्रतिनिधिहरु कम हुने भएकाले उनलाई मिलाएर आउँदो चुनाव जित्ने ध्याउन्नमा शर्मा रहेका छन् । तर, कुँवर आफै अहिले शेष घलेको छत्रछायामा रहेको र माओवादीसँग पनि अत्यन्त निकट सम्बन्ध भएकाले उनलाई पनि अगाडि बढाउन सक्ने बुझिएको छ । त्यसैगरी अर्को पात्रको रुपमा अमेरिका निवास सोनाम लामा पनि हुन् । सोनामलाई अब एकताको अधिवेशन गर्ने र उनलाई नेतृत्व दिने कुरा पनि नउठ्ला भन्न सक्ने अवस्था छैन ।
तर, बालुवाटारमा दुई पक्षबीच सहमति भएपछि भने अहिले एनआरएनएमा अन्यौलता जस्तो पनि देखिएको छ । कुँवर पक्षले आफूहरुलाई डकुमेन्टमा अध्ययननै गर्न नदिइ हस्ताक्षर गराएको आशय व्यक्त गरेका छन् भने सोमबारमात्रै बसेको बैठकमा हस्ताक्षरकर्ता कुँवर र उनकै महासचिव जानकी गुरुङले माफि मागेको बुझिएको छ । वैठकमा उनीहरुले पछिल्लो घटनाक्रमबारे विफ्रिङ गरेका थिए ।
बैठकमा उनीहरुले भने ‘हामीलाई प्रधानमन्त्रीको निवास बालुवाटार बोलाइयो, बालुवाटारबाट प्रधानमन्त्रीले परराष्ट्रमन्त्री एनपी साउदलाई टेलिफोन गरेर एनआरएनएको विवाद मिलाउनु भन्नुभयो, अनि प्रधानमन्त्रीले मैले भनिसके तपाईंहरु परराष्ट्रमन्त्रीलाई गएर भेट्नुस, भेट्नु अघि यो डकुमेन्टमा दुवै पक्षले हस्ताक्षर गरेर जानुस् ’ यति भनेपछि आफूहरुले अध्यय नै नगरी हस्ताक्षर गरेको स्वीकार गरेका छन् । यो सवै कामका लागि वर्तमान अध्यक्ष बद्री केसीलाई अघि देखाएर सवै जस लिनका लागि आरके शर्मा लागि परेको बुझिएको छ । एनआरएनएका महासचिव डा. केशब पौडेल लगाएतका अरु पदाधिकारीहरुलाई नबोलाउनुबाट पनि सहजै प्रश्ट भएको छ ।
बालुवाटर वैठकपछि जानकी गुरुङले लेखेको स्टाटस हेर्नुहोस् ।

आरके केही समय अघि देखि विभिन्न नेताहरुसँग विभिन्न बहानामा भेट गर्दै आएका छन् । अहिले राष्ट्रपति रामचन्द्र पौडेलले थन्कीएर बसेको नागरिकता विधेयक प्रमाणीकरण गरेपछि अहिले यो विषय अदालतमा पुगेको छ । नागरिकता विधेयकले एनआरएनए नागरिकताको सवाल सम्बोधन गरेको भए पनि अदालतमा विचारिधन रहेको छ । यही बहानामा उपाध्यक्ष आरके शर्माले नेताहरुलाई भेटेर नागरिकता विधेयक प्रमाणीकरण भएको बधाई दिँदै फोटो खिचाएर सामाजिक सञ्जालमा पोस्ट गर्न सक्रिय भएका छन् । एनआरएनएमा तीन तीन अध्यक्ष रहेको भए पनि उपाध्यक्ष शर्माको यो सक्रियतालाई आउँदो चुनावसँग सम्बन्धी रहेर धेरै अर्थ लगाउने गरेका छन् ।













