पहिलो महाधिवेशन गर्दै पेन्सिलभेनिया नेपाली गुठी
ल्यानक्यास्टर,पेन्सिलभेनिया/ पेन्सिलभेनिया नेपाली गुठीको पहिलो ऐतिहासिक महाधिवेशन जुन २४ तारकि हुने भएको छ।
संस्था औपचारिक रुपमा दर्ता भएको दश वर्ष पछि गुठीले पहिलो अधिवेशन गर्न लागेको हो। पेन्सिलभेनियामा बसोबास गर्ने नेपालीहरुले स्थापना गरेको गुठी सन् २०१३ मा दर्ता भएको थियो।
यसका संस्थापक अध्यक्ष विमल मोक्तान हुन्। अध्यक्ष मोक्तानका अनुसार महाधिवेशन जुन २४ तारिक शनिवार बिहान नौ बजे गुठीको आफ्नै भवनमा हुने छ। (1000Germantown Plymouth Meeting PA 19462 B-5)
गुठीले हालै मात्र आफ्नै भवन खरिद गरेको हो । गुठी अमेरिकी स्थानीय सरकारबाट एकै पटक धेरै रकम सहयोग लिन सक्ने नेपालीहरुको संस्थामा अग्रस्थानमा आउछ।
गुठीले झण्डै पाँच लाख अमेरिकी डलर स्थानीय सरकारबाट अनुदान पाएको छ। नेपालीमुलका पहिलो अमेरिकन डेलिकेट डा. ह्यारी भण्डारीले महाधिवेशनको उद्घाटन गर्ने छन्।
‘नौ बजे उद्घाटन हुन्छ, ११ बजे देखि बन्द्र शत्र शुरु हुने छ।’ अध्यक्ष मोक्तानले समाज टाइम्स सँग भने।
महाधिवेशनले नेतृत्व चयन गर्ने छन्। अध्यक्ष मोक्तानका अनुसार नेपाल प्रहरीका पूर्व एआईजी नवराज ढकालको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन आयोग गठन गरिएको छ। आयोगको सदस्यमा सुनिल नेपाल र लक्षमण लामा रहेका छन्। गुठीका सदस्य नविन लामाले निर्वाचन आयोगलाई सहयोग गरिरहेका छन्।
प्रमुख निर्वाचन आयुक्त ढकालले निर्वाचन तालिका समेत सार्वजनिक गरेका छन्। आयोगबाट जारी सूचना अनुसार जुन २४ तारिक शनिवार १२ देखि दुई वजे सम्मका लागि उम्मेदवारी दर्ता समय तोकिएको छ।
दुई देखि चार बजे सम्मका लागि मतदानको समय तोकिएको छ। गुठीको विधान अनुसार अध्यक्ष,उपाध्यक्ष,सचिव,कोषाध्यक्षमा एक-एक र बोर्ड सदस्य सात जना रहने व्यवस्था छ। निर्वाचन आयोगले जारी गरेको सूचनामा गुठीमा ७९ जना सदस्य रहेका छन्।
गुठीमा अहिले सम्म कुनै पनि पदमा कसैले उमेदवारीको दावी गरेका छैनन्। अध्यक्ष मोक्तानले अब आफुले संस्थामा अभिभावकको रुपमा बस्न चाहेको बताए।
‘म संस्थापक अध्यक्ष हो, संस्थामा ठूलो रकम ल्याइदिएका छौ। म धेरै पनि भयो नेतृत्वमा रहेको। अब अरुलाई पनि पालो दिनु पर्छ । हाम्रो सपनाको जग बसालेका छौ, केही हद सम्म पुरा भएको छ। अब नयाँ साथीहरुले निरन्तरता दिनु हुन्छ, अब को नेतृत्वमा आउने टिम कसरी बनाउने हलले नै निर्णय गर्छ।’













