एनआरएनए अमेरिका निर्वाचन : डिलुको दैलोमा अर्जुनदृष्ट्रि
राजु तिमिल्सिना
केन्टकी,अमेरिका / गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) अमेरिकाको आगामी निर्वाचनमा अध्यक्षका प्रत्यासी डा. अर्जुन बञ्जाडेले केन्टकी राज्यमा आइतवार आफ्नो चुनावी सभा सम्पन गरेका छन्।
केन्टकी अध्यक्ष पदका अर्का प्रत्यासी डिलु पराजुलीको गृहराज्य हो। जहाँबाट डिलुले जुन दश तारिक आफ्नो उमेदवारी घोषणा गरेका थिए। ‘स्थानीय अत्यन्त मिलनसार एवं योग्य एनआरएनए अभियन्ता डिलु पराजुली पनि अध्यक्ष पदका प्रत्यासी भईरहेको अबस्थामा तपाईलाई किन भोट दिने’ लेक्जिन्टबासीले डा. बञ्जाडेलाई प्रतिप्रश्न तेस्राएका थिए।
काठमाडौंमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को रोहबरमा ‘छापामार’ शैलीमा भएको विवादास्पद एनआरएनए एक हुने सहमतिको स्वागत गर्दै मन्तव्य शुरु गरेका डा बञ्जाडेले संस्थाको प्रगतिको लागि प्रस्तुत गरेका दृष्टीकोण र कार्ययोजनाको तुलनाको आधारमा दुईजना मध्ये कुनै एक जनालाई चुन्ने अधिकार सर्बसाधारणलाई सुम्पिएको बताए।

‘डिलु पराजुलीले एनआरएनए प्रति योगदान दिनु भएको छ, एनआरएनए एक अभियान भएकाले यसमा सबैको आ-आफ्नो ठाँउबाट आफ्नो योग्यता अनुसारको सकेको योगदान दिनु पर्छ।’ डा. बञ्जाडेले भने, ‘एनआरएनए अमेरिका प्रति दुबै उम्मेदवारले विगतमा दिएको योगदानको उचित मूल्याङ्कन गर्दै भविश्यमा संस्थाको प्रगतिको लागि प्रस्तुत गरेका दृष्टीकोण र कार्ययोजनाको तुलनाको आधारमा दुईजना मध्ये कुनै एक जनालाई चुन्ने अधिकार सर्बसाधारणलाई नै छ।’

सोही कार्यक्रममा बरिष्ठ उपाध्यक्षका उमेवार बिकास उप्रेतीले पनि मन्तव्य दिएका थिए।
उप्रेती सहित उपाध्यक्षका उम्मेदवार नेत्र पाण्डे, सचिबका उम्मेदवार दिपक सापकोटा, सह-कोषाध्यक्षका उम्मेदवार दिवाकर पाण्डे, बोर्ड अफ डायरेक्टरका उम्मेदवारद्वय सुभाष अर्याल र संजय सिंहले डा. बन्जाडेको एजेन्डाहरू नै आफ्नो एजेन्डा भएको बताउदै पुरै टिमलाई जिताउन आह्वान गरे।
एनआरएनए अमेरिकाका निवर्तमान बोर्ड अफ डायरेक्टरद्वय सत्य नारायण चौधरी र छत्र गुरुङले आइसीसी सदस्यका लागि भोट मागे।
केन्टुकी च्याप्टर सचिव अर्जुन न्यूपानेले च्याप्टरले बिगत दुई बर्षमा गरेका कामहरूको उल्लेख गर्दै आफू च्याप्टर अध्यक्षको प्रत्यासी रहेको जानकारी गराउदै सहयोगको आह्वान गरे।

डा.बञ्जाडेको केन्टकी चुनावी सभा, प्रवासी मञ्चको भीड,जनसम्पर्क ‘निल’ !
नेपाली कांग्रेसको विदेश स्थित भातृ संस्था नेपाली जनसम्पर्क समितिका संस्थापक मध्येका एक डा. बञ्जाडेको चुनावी सभामा बामापन्थीहरुको बाहुल्यता थियो। कार्यक्रममा जनसम्पर्क समितिका पदाधिकारी देखा परेनन्।
नेकपा एमाले निकटको प्रवासी नेपाली मञ्च अमेरिकाको साधरण सभा सकिएको भोली पल्ट डिलुको दैलोमा डा. बञ्जाडेले शक्ति प्रदर्शन गर्न खोज्दा पनि त्यस्तो संयोग जुरेको धेरैले अनुमान गरेका थिए।
त्यसो त प्रवासी मञ्चले संस्थागत रुपमा नै अध्यक्षमा डा. बञ्जाडेलाई सधाउने निर्णय गरिसकेको छ। अध्यक्ष बाहेक मञ्चले दश जनालाई डा.बञ्जाडे प्यानलमा समावेस गराएको छ।
केन्टकी सभामा उपस्थित उमेदवार मध्ये उपाध्यक्षका नेत्र पाण्डे, सचिबका दिपक सापकोटा, बोर्ड अफ डायरेक्टरका संजय सिंह र आइसीसी सदस्यका छत्र गुरुङ प्रवासी मञ्चले औपचारिक रुपमा टिकट दिएका उमेदवार हुन्।

एनआरएनएमा बामपन्थीहरुको जवरजस्त उपस्थितिको वाकलत गर्दै आएका एनआरएनए केन्टुकी च्याप्टरका सल्लाहाकार एकनाराणण सुवेदीले सभाको सभापतित्व गरेका थिए।
कार्यक्रमको प्रमुख अतिथि एनआरएनए अमेरिकाका क्षेत्रिय सह-संयोजक (डीआरसी) पुरषोत्तम बोहरा थिए। बोहोरा पनि मञ्च निकट हुन्।
कार्यक्रमको संचालन प्रवासी नेपाली मञ्च अमेरिका (ओएनएफ) का केन्द्रिय सदस्य घनश्याम खनालले गरेका थिए।
ओएनएफ उपाध्यक्ष गोपाल कंडेल, ओएनएफ केन्टुकी च्याप्टर अध्यक्ष टेकराज भट्टराईले पनि डा. बञ्जाडे टिमलाई विजयको शुभ कामना दिए।
एनआरएनए केन्टुकी च्याप्टरका अर्का सल्लाहकार मोहिनी डूम्रेले, एनआरएनए केन्टुकी च्याप्टर अध्यक्ष केशब लोहनी, लगायतले सभामा शुभ कामना मन्तव्य दिएका थिए। यस्तै स्थानीय व्यावसायी शशी चन्द्र अधिकारीले पनि बञ्जाडेलाई शुभ कामना दिएका थिए।
केन्टकी च्याप्टरका अध्यक्ष लोहनी यस अगाडि डिलु पराजुलीको चुनावी सभामा पनि उपस्थित थिए।
यसै बीच डा. बन्जाडेको अर्को चुनाबी सभा जुन २४ शनिवार क्यालिफोर्नियाको लस एन्जलस्मा हुने सचिवालयले जनाएको छ।














