काभा पुरुष भलिबल नेसन्स लिग : नेपाल मंगोलियासँग ३–१ ले पराजित
काठमाडौं । नेपाल काभा पुरुष भलिबल नेसन्स लिगको पहिलो खेलमा मंगोलियासँग पराजित भएको छ ।
कीर्गिस्तानको बिस्केकस्थित चोल्फन–अतामा रहेको स्पोर्ट्स एण्ड रिक्रिएसन कमप्लेक्समा आइतबार भएको खेलमा मंगोलियासँग नेपाल ३–१ सेटमा पराजित भयो ।
नेपाल भलिबल संघका अनुसार मंगोलियाले पहिलो सेट २५–१९ र दोस्रो सेट २५–२० ले जिते पनि तेस्रो सेट नेपालले २७ – २५ ले आफनो पक्षमा पारेको थियो । तर निर्णायक सेटमा मंगोलिया नेपालमाथि २५ –२० ले हावी भएको थियो ।
यसअघि भएको भेटमा सन् २०१८ को एसियाली खेलकुदमा नेपालले मंगोलियालाई ३–१ को सेटमा पराजित गरेको थियो ।
नेपालले अब भोलि सोमबार घरेलु टोली कीर्गिस्तानसँग खेल्ने छ ।














