नागरिकताविहीन र नागरिकता विधेयकको विरोधमा उभिएकाहरुबीच खुल्ला वहस
काठमाडौं । नागरिकताविहीन नागरिक र नागरिकता विधेयकको विरोधमा उभिएकाहरुबीच खुला छलफल भएको छ ।
राष्ट्रिय सरोकार समूहले शुक्रबार आयोजना गरेको नेपाली नागरिकता समस्या, निकास र राष्ट्रिय नीति विषयक खुला छलफल कार्यक्रममा नागरिकता विधेयकविरुद्ध रिट हालेका कानून व्यवसायीहरुले आफुहरु नेपाली नागरिकको अधिकारको विरोध नभएको बताएका छन् ।
यता नागरिकताविहीन युवाहरुले भने आफुहरुले नागरिकता नपाए आत्मदाह गर्नेसम्मको धम्की दिदैं त्यस्को जिम्मेवार रिट निवेदकहरु हुनुपर्ने चेतावनी दिएका छन् ।
कार्यक्रममा अधिवक्ता ध्रुव श्रेष्ठले विधेयकलाई सहजै स्वीकार गर्ने अवस्था नरहेको बताएका छन् ।
उनले भने ‘ देश चल्न नसक्ने अवस्थामा छ त्यसमाथि यो विधेयक आएको छ । यसैलाई यतिकै छोड्न मिल्दैन । यसमा तपाईहरुको समस्यालाई मध्यनजर गर्दै यसले अन्य देशबाट आउने व्यक्तिहरुले पनि नागरिकता पाउने भएकाले हामीले यसलाई रोकेर राखेका छौं । तपाईहरुको समस्या यो विघेयक पारित हुँदा पनि त्यतिकै रहन सक्छ ।
यता नागरिकताविहीन सीता रायले यही देशको नागरिक हुँदा पनि नागरिकता पाउनका लागि रातदिन सडकमा आउनु पर्ने अवस्था छ भन्दै दुखेसो पोखिन ।
उनले भनिन ‘ किन दिन रात नागरिकताको लागि रोडमा आउनु पर्छ । नागरिकता भएन भने म आत्महत्या गर्छु । केही भयो भने रिट हाल्ने नै जिम्मेवार हुनेछन । ’
यस्तै नागरिकता विधेयकविरुद्धका रिट निवेदक मध्येका एक वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले आफुहरु प्रत्येक नेपालीले नागरिकता पाउनुपर्छ भन्ने पक्षमा रहेको तर गैर नेपालीले नागरिकता पाउनु हुन्न भन्ने अडानमा रहेको बताए ।
उनले भने ‘प्रत्येक नेपालीको सन्तानले नागरिकता पाउनु पर्छ । हामीले रिटमा माग गरेका छौं की नेपालको नागरिक नागरिकता पाउनबाट वञ्चित हुनुहुँदैन र यदि तत्काल हुन सक्दैन भने अस्थायी नागरिकता भए पनि दिनुपर्ने जस्ता कुरा राखेको छौं । उनीहरुको सिप शिक्षा रोजगारमा कुनै रोक नहोस भन्ने छ । म कानून र सत्ता हैन । नागरिकता अदालतले दिने हैन सिडियो ले दिने कुरा हो । म तपाईहरुको साथमा छु तपाई र हामीबीच केही समस्या छैन् । ’















