कुशलको उत्कृष्ट शतक, ओमानविरुद्ध नेपालको जित
काठमाडौं । आईसीसी विश्वकप क्रिकेटको ग्लोबल क्वालीफायरको तयारीमा रहेको नेपालले आफ्नो अन्तिम अभ्यास (वार्मअप) खेलमा ओमानलाई पराजित गरेको छ । जिम्बाबेमा आज भएको खेलमा नेपालले जित निकाल्दा ओपनर कुशल भुर्तेलले शतकीय पारि खेले । भुर्तेलको शतक मद्दतले नेपालले ओमानलाई २ विकेटले पराजित गरेको हो ।
ओमानले दिएको २६८ रनको लक्ष्य नेपालले ४४.५ ओभरमा ८ विकेट गुमाएर पूरा गरेको थियो । कुशलले ९४ बलमा १०१ रनको पारि खेल्दा रिटायर्ड हट भएका थिए । उनले २ छक्का र १३ चौका प्रहार गरे । यसैगरी अर्का ओपनर आशिफ शेखले २३ रनबनाउँदा भीम सार्कीले ५६ रनको अर्धशतकीय पारि खेलेका थिए । त्यसैगरी कप्तान रोहित पौडेलले ३१ रन बनाउँदा दीपेन्द्रसिंह ऐरीले २६ रनको योगदान गरे । कुशल मल्ल १७ रनमा आउट हुँदा सन्दीप लामिछानले पहिलो बलमै छक्का प्रहार गर्दै नटआउट रहे ।
ओमानका अकिब इलियासले ४ र फैयाज बटले २ विकेट लिँदा करिमुल्लाहले एक विकेट हात पारे । पहिला ब्याटिङ गरेको ओमानले ४९.२ ओभरमा सवै विकेट गुमाएर २६७ रन बनाएको थियो । ओमानका कप्तान जिशान मक्सुदले १०९ रनको शतकीय पारि खेले ।
मकसुदले १ सय ६ बलमा १ सय ९ रनको शतकीय पारि खेलेका हुन् । ओमानले ६ दशमलब २ ओभरमा ७ रन जोड्दा ४ विकेट गुमाएको थियो ।
पाँचौ विकेटका लागि कप्तान मकसुद र सोयब खानले ९४ रनको साझेदारी गरे पछि ओमान खेलमा फर्किन सफल भयो । सोयबले ३८ रन बनाए । यसैगरी सातौं विकेटको रुप्मा मकसुदले आयान खानसँग ११५ रनको साझेदारी गर्दै नेपालबाट ओमानलाई दबाब मुक्त बनाएका थिए । आयान ५६ रनको पारि खेलेर आउट भए । यसैगरी नासिम खुसीले १७ रन बनाउँदा सन्दीप गौडले १५ रन जोडेका थिए ।
नेपालका सोमपाल कामीले ५ विकेट लिँदा लेग स्पिनर सन्दीप लामिछानेले ३ विकेट हात पारे । करण केसी र प्रतिस जिसीले एक एक विकेट लिएका थिए ।














