मुलुकको रुपान्तरणका लागि गणतन्त्रको संस्थागत विकास आवश्यक : शेरबहादुर देउवा

Getting your Trinity Audio player ready...
|
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानको संरक्षण र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत विकासबाट नै नेपाललाई सभ्य, सुखी र सम्पन्न राष्ट्रका रुपमा रुपान्तरण गर्न सकिने विश्वास व्यक्त गरेका छन् ।
१६ औं गणतन्त्र दिवसको अवसरमा शुभकामना विज्ञप्ति जारी गर्दै सभापति देउवाले नेपाली जनताको त्याग, वलिदान र उत्सर्गबाट प्राप्त यो ऐतिहासिक उपलब्धिको रक्षार्थ सबैले आ–आफ्नो तहबाट जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्न आवश्यक भएको उल्लेख गरेका छन् ।
मुलुकलाई आर्थिक समृद्धिको मार्गमा अग्रसर गराउँदै लोकतान्त्रिक संस्कार, संस्कृति, मूल्य र मान्यतामा आधारित समतामूलक समाजको निर्माण गर्न यो गणतन्त्र दिवसले सबैलाई प्रेरणा प्रदान गर्ने विश्वास पनि उनले व्यक्त गरेका छन् ।
विज्ञप्तिमा भनिएको छ ‘नेपाली जनताको अभूतपूर्व त्याग र वलिदानबाट ऐतिहासिक जनआन्दोलन २०६२/६३ को सफलता पश्चात नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाको नेतृत्वको सरकारले संविधानसभाको निर्वाचन सम्पन्न गरी गणतन्त्र कार्यान्वयनको लागि वि.सं. २०६५ जेठ १५ गते संविधान सभाको पहिलो बैठकमा पेश गरेको प्रस्ताव पारित भई नेपालमा राजतन्त्रको अन्त्य र संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको हो ।
यो दिनलाई हामी सबैले गौरवका साथ स्मरण गर्दै हरेक वर्ष गणतन्त्र दिवसका रुपमा मनाउँदै आएका छौँ ।’