यात्रा वर्णन : वृत्तचित्रको लागि बरालिँदा


काठमाडौं/ हुन त बरिष्ठहरुका बासस्थान सुगम राजधानीलाई छोडेर दुर्गम गाउँमा उज्यालोको के आशा र ! तैपनि, लाग्यौ धादिङ र नुवाकोटका केही ग्रामीण बस्तीतिर । उद्देश्य थियो, डेनिस दुतावासको सहयोगमा नेपाल वातावरण पत्रकार समूहको श्रव्य दृश्य श्रृङखला ‘हाम्रो संस्कृति, हाम्रो परम्परा’ खिँच्ने ।
काठमाण्डौं उपत्यकाभित्र लोडसेडिङको तालिका लम्बिदै थियो । भए गरेका उद्योग व्यावशाय पनि अप्ठेरो र अलपत्रमा पर्दै थिए । उज्यालो र इन्धन अभावकै कारण मानिसहरू अध्यारोसँगै अभ्यस्त बन्न बिबश थिए । निराशा झन व्याप्त थियो । हामी भने, उज्यालो र उन्नतिको खोजीमा दुर्गम गाउँ तिर लाग्यौं ।
साथमा थिए, चालक पुष्कर खड्का र क्यामरामेन मोहन के.सी.।
देशैभरि नयाँपन र परिवर्तनको कुरा धेरै भए । तर काम कहाँबाट कसले शुरु गर्ने होला ? नेताले, प्राविधिक वा जो कसैले ? यस्तै प्रश्न हुन्थे मनमा । जे होस, कुरै कुराको यो देशमा कुरा छोडेर काम गर्नेहरुको सीप र शैली देख्दा लाग्यो, परिमार्जन र परिवर्तन गाह्रो छ तर असम्भव भने रहेनछ ।
कात्तिकको दिन । छिटो जाने भन्दा भन्दै सुटिङ क्रियू जम्मा हुन नै ढिलो भयो । उपत्यकाभित्रको जाम छिचोलेर थानकोटको बाणभञ्ज्याङ पुग्दा नै साढे आठ बजिसकेको थियो । पृथ्वीराजमार्गको आदमघाटबाट मोडिएर किराञ्चोकतर्फ एकोहोरियौं ।
हरियो बनको पाखो धुलौटे मोटरबाटोसँगै लटरम्म धान झुलेको खेत र सङ्ग्लो सफा बगिरहेको बेल्खु खोला । प्राकृतिको अनुपम संयोजन वास्तवमै पहाडी परिवेशको सुन्दर झलक । सुुन्दर ढंगबाट सिंगारिएको एउटा ठूलो क्यानभास र सोही क्यानभास भित्र हामी आफै समेटिएको आभाष !!
बाटो कहिले बनभित्र पसेर हराए झै हुन्थ्यो त कहिले खेतको गह्रा गह्रै तेर्सिएको । खेतको बीचबाट बाटो । बाटोको दायाँ बायाँ पहेल्पुर झुलेका धानका बाला । हेर्दै रहर लाग्दो प्राकृतिक छटा । धानबाली पकाउन लगाइएको पानीका कारण बाटो भने हिलाम्य थियो । सवारी सजिलो थिएन ।
बाटोको बेहाल
त्यति बेला यात्रा अफ्टेरोमा पर्यो । जतिबेला हाम्रो मोटर गहिरो र गाढा हिलोमा फस्यो । तमाम प्रयास गर्यौं । अगाडीबाट तान्न मिलेन, पछाडीबाट धकेल्न थाल्यौं । अहँ केही लागेन । ‘पाडो भए हिड्थ्यो प्राडो पर्यो ।’ यसो भन्दा घाम र भोकले निलो भएका साथीहरूको हाँसोले ओठ त तन्क्यो तर यात्रा तन्केन ।

आखिर मोटर तान्न पनि सकिएन धकेल्न पनि । ‘फोर ह्विल सिस्टम’ले काम नगर्ने भए पछि समस्यामाथि झन सकस थपियो । बाटोमा खाल्टो, खाल्टोमा पानी र पानीभित्र गिलो र हिलो माटो । समुदायस्तरमा भएको सुखद खबर खिच्न आएका हामी आफै सकसमा फस्यौं ।
सहयोग माग्न फर्केर जाउँ लामो बन, अगाडि बढौं खेत र डाँडामात्र मानव वस्ती नै देखिदैन । खेत न हो दायाँ वायाँ ढुङगा खोज्दा कतै छैन् । पुस्कर र महोन हिलो मै गाडिएको ढुङ्गा मिलाउदै थिए । धमिलो पानीभित्र धारिलो ढुङ्गाको गहिरो चोटले रन्थनिदै मोहन रगतपछ्छे भएर निस्किए । दुर्भाग्य प्राथमिक उपचारका केही साधन पनि हामीसँग रहेनछ । चोट गहिरो, चोटभित्रै ढुङगा भाँचिएको रहेछ । अब गाडी छोडेर हिड्न सक्ने विकल्प पनि भएन । पुग्नु पर्ने बेलबोटे भन्ने ठाउँ अब कति टाढा छ ? मेसो पनि भएन । फर्किन त राजमार्गबाट दशौं किलोमीटर भित्र ।
मध्यान्न एघार आसपासको समय । हिलो बाटो, चर्को धाम । भोको पेट । साहराबिहिन यात्रा । एक मन त लाग्यो म कति वेकुफ !! मनमा औडाहा भयो ।
आहा ! औडाहा पछि आरामको महशुस भयो । केही मानिसहरु कोदालो कोदाली सहित बाटोमै भेटिए । मेरोे उद्देश्य र हालत सुने पछि उनीहरु उद्धारका लागि उक्सिए । हामी गाडी समक्ष आइपुग्दा अरु दुईवटा गाडी बाटो नपाएर रोकिएको रहेछ । उनीहरु त साथमै सावेल र ढुङगा बोकेर हिड्दा रहेछन् । विकट पाहाडमा बाटो पुगेको छ तर विडम्वनापूर्ण । त्यसैले बानी नै भएछ साधन बोकेर हिड्ने ।
हामीलाई सहयोग गर्नै मध्ये एक थिए, पूर्वसभासद् सालिकराम जमरकट्टेलका (हालका मुख्यमन्त्री) दाइ रामचन्द्र जमरकट्टेल । उनी भन्दै थिए ‘बजेट जति जिल्लामै (सदरमुकाम) खान्छन्, गाउँलेलाई दुःख मात्र । अब त दाइकै भाइ त हो नि बजेट भाग लगाउने ठाउँमा ? उनलाई सोधियो । बाटोको पानी काटेर बगाइरहेका उनले टक्क रोकिएर बडो उपमायूक्त जवाफ दिए ‘पानी तलतीर…र बजेट माथितिर बग्दोेरहेछ ।’
तैपनि लाग्यो, गाउँको जीवन हारगुहार र हार्दिकतामा अडेको छ ।
गाउँको गौरव
बेलबोटे स्थीत अर्जुन रिमालको पानी घट्टमा पुग्दा लाग्यो, हरेक पहाडी गाउँ समुदायमा पुस्तौदेखि प्रयोग गरिदै आएको यस्ता घट्ट मकै, गहुँ, कोदो तथा अन्य अनाज पिध्न मात्र होइन थोरै परिमार्जन गरे बहुउपयोगी बनाउन सकिन्छ । सुधारिएको पानी घट्टमा फलामकोे पाइप र ट्रवाइनको प्रयोगले एउटै मदानीमार्फत धान कुट्ने, मकै पिध्ने, च्यूउरा कुट्ने, काठ चिर्ने, तेल पेल्ने र बिजुली उत्पादन गर्न सकिन्छ । यसले श्रम र समयको बचत गर्दै उत्पादनशीलतामा बृद्धि गरेको छ ।

त्यस्तै, साबिकको छिमेकी गाविस बैरेनीको बाइगाउँका वीरबहादुर लोप्चन गाउँलेलाई प्रतिरात एक रुपैंयामा बिजुली बेच्न पाएकोमा गर्व गर्छन् । त्यस्तै गाउँले पनि एक रुपैयाँमा नै चार पाँच वटा चिम बाल्ने, टिलिभिजन, रेडियो र कम्यूटर चलाउन पाएकोमा मख्ख छन् । गाउँले भन्छन् ‘यो गाउँ कै गर्वको कुरा हो ।’
पानीघट्टका कारण गाउँ समुदायले धेरै कुरामा राहात पाएका छन् । त्यस्तै घट्ट सञ्चालकले पनि उनीहरुबाट सहयोग पाएका छन् । यसले आपसी सहयोग र सद्भाव पनि बढाएको छ । यो घट्टमार्फत पुरै गाउँ समुदायले नै फाइदा लिएका छन् । डिजेल नचहिने हुनाले ज्यालामा सस्तो र सहुलियत पनि छ । लोप्चनको सादा शैली र प्राविधिक ज्ञानले सबैलाई प्रभावित बनाएको रहेछ । वास्तवमै उनी नमूनाका व्याक्ति रहेछन् ।
पौरखको परिणाम
नुवाकोट जिल्ला, मदनपुरका पदम रुम्बालाई लोडसेडिङको कुनै पर्वाह छैन, बरु उनकै पानी घट्टबाट निकालेको बिजुली प्रयोग गरी नसक्नु छ । त्यस्तै उनले दुई सय वाटका आधा दर्जन बल्व नचाहिएर नै बाल्छन् । यसो गर्दा उनले प्रयोग गरेको अन्य मेसिनरी सामानहरुलाई बढ्ता बिजुली भोल्टेजको चापबाट हुने नोक्सानीबाट बचाउँछ ।
उनको मुख्य पेशा माछा पालन र रेष्टुरेन्ट व्यावशाय हो । यो पेशाका लागि पानी घट्टले धेरै सहयोग पुर्याएको छ । उनले पालेको जापानीज रेन्बो ट्राउट जातको माछा स्वादिलो र स्वस्थवर्धक भएकै कारण महंगो पनि छ । महंगो हुनुको अर्काे कारण यसको आहार पनि हो । आहारको लागि प्रयोग गरिने कच्चा पदार्थ र प्रशोधन तथा उत्पादनमा लाग्ने खर्च हो । रुम्वाको त्यही खर्च जोगाउन पानी घट्टले सहयोग गरेको छ । थोरै बुद्धि पुर्याएर तालमेल मिलाउन हो भने आम्दानी गर्न गाह्रो छैन, यसै भन्छन् पदम ।
घट्टसँगै ३ किलो वाट बिजुली उत्पादन गर्ने डाइनामो छ । उत्पादित बिजुली मार्फत विभिन्न विद्युतीय सामानका साथै माछाको दाना बनाउने मिसिन चलाउँछन् । यिनै मेसिन चलाउन लाग्ने खर्च बचाउँदा उनको आम्दानी बढेको छ । उनलाई ३०÷३५ हजार कमाउन विदेश जानु वा अरुको चाकडी गर्नु परेको छैन ।
परिमार्जित पानीघट्टले प्रत्यक्षमात्र होइन, अप्रत्यक्ष रुपमा समाजको हरेक तह र पक्षलाई सकारात्मक प्रभाव पारेको छ । यसले मानिसहरुको उत्पादनशिलतामा सहयोग पुर्याएको छ ।
काठ काट्ने काममा यो प्रविधिले सजिलो बनाएको छ । दुई जनालाई दिनभरि लाग्ने काम एक घण्टामा सकिने भएको छ । क्यू फीटको २५ रुपैयाँमा नै चिरानी काम पूरा हुन्छ । यसले छिटो, छरितो र सस्तो पनि भएको छ । गाउँ समुदायले एउटै ठाउँबाट धेरै काम गर्न पाएका छन् ।
बैकल्पिक उर्जा प्रवर्धन केन्द्रका वरिष्ठ उर्जा अधिकृत समीर थापाका अनुसार देशभरि भएका करिव तीस हजार पानी घट्टलाई सुधार्न सकियो भने ग्रामीण भेगमा यसको राम्रो विस्तार हुने देखिन्छ ।
लगभग दुई लाख लगानी पर्ने यस कार्यका लागि सरकारले १२ हजार अनुदान दिन्छ । अनुदान पाउनको लागि घट्ट सुधार केन्द्र र घट्ट संचालक वीच सहमति भैसके पछि घट्ट सुधार सेवा केन्द्रमार्फत कम्पनी जसले बनाउँछ, उसलाई भुक्तानी गर्ने प्रक्रिया छ ।
उल्टो यथार्थ
हामी आफ्नै आँगनमा उपलब्ध श्रोत र साधानमार्फत सिर्जनशिल हुन सक्छौ । पुस्ता परिवर्तनसँगै गरिने यस्ता परिमार्जनले आफ्नोपनमा गर्व गर्न प्रेरित गर्छ तर यथार्थ यस्तो मात्रै पनि छैन् ।
सुटिङ सकेर राजमार्गको सिम्ले नजिकै ओर्लदा हामीले चिया खानेहोटलमा पुलिसको गस्ती रहेछ । प्रायः केटाहरू क्यारेमबोर्ड खेल्दै गरेको देखिने उक्त होटलमा पुलिसको उपस्थिति सहज लागेन ।
केही पर देखिन्थ्यो, दुई जना केटाहरूलाई चार जना पुलिस लखेट्दै गरेका । भाग्दै गरेको केटाहरू महेश खोला तरेर जंगल पसे उनीहरूलाई पक्राउ गर्न गएको पुलिसहरू आफै अलमलमा परे ।
यता होटल नजिकै एउटा किशोर आइया. !..आइया ! भन्दै रन्थनिदै थियो । टाउँकोबाट रगत बगिरहेको थियो । उसको टाउको सुम्सुमाउनेहरु भन्दै थिए । “चोट गहिरो छ, सिसाभित्र अड्केको पनि हुन सक्छ । काठमाण्डौं लैजानु पर्छ ।” मोवाइलमा ब्यस्त देखिने अरु भन्दै थिए “चाहिएको बेलामा एउटा पनि एम्बुलेन्स छैन् ।”
त्यो बित्यास र बियोगको बेला के भयो र कसो भयो ? भनेर सोध्ने साहास गरेनौं । केहीबेर पछि थाहा भयो । क्यारेमबोर्ड खेलमा पाँच रुपैयाँको हिसाव नमिलेपछि विवाद चर्कदै जाँदा वियरको बोतलले बजाइदिएछ ।
कति मीठो हार्दिकतालाई हिंसाले बिगारेको । यो देखेर बिरक्तियो मन । अन्ततः ओभर लोडका कारण बिग्रेको बाटोमा हामी पनि बिग्रेको मन लिएर काठमाण्डौं उक्लियौं ।