डा.सन्दुकलाई वसुन्धरा र डा. महावीरलाई मानश्री पुरस्कार
काठमाडौं/ वसुन्धरा-मान प्रज्ञाप्रतिष्ठानले डा. सन्दुक रुईतलाई वि.सं. २०८० सालको वसुन्धराश्री पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ।
यसै गरि डा. महावीर पुनलाई वि.सं. २०८० सालको मानश्री पुरस्कार प्रदान गरिने भएको छ।
प्रज्ञाप्रतिष्ठानका कुलपति डा. दुबसु क्षेत्रीको अध्यक्षतामा वैशाख ६ गते बसेको विशेष बैठकले नेपालका दुई चर्चित व्यक्तित्वलाई पुरस्कार दिने निर्णय गरेको हो।
डा. सन्दुकले तीलगंगा आँखा अस्पताल एवं सयौँ शिविरको संचालनद्वारा लाखौँ स्वदेशी तथा विदेशी नागरिकहरूको आँखा उपचार गरी मानवताको सेवा गरेको आधारमा पुरस्कार प्रदान गर्न लागिएको हो।
यस्तै डा. महावीर पुनले नेपालमा शिक्षा, संचार प्रविधि र विज्ञानको विकासमा पुर्याउनु भएको अतुलनीय योगदानका आदारमा पुरस्कार प्रदान गरिन लागिएको प्रतिष्ठानका सदस्य सचिव कृशु क्षेत्रीद्वारा बुधवार जारी विज्ञप्तिमा उल्लेख छ।
प्रेस विज्ञप्ति पूर्ण पाठ
वसुन्धरा—मान प्रज्ञाप्रतिष्ठानका कुलपति डा. दुबसु क्षेत्रीको अध्यक्षतामा वि.सं २०८० साल वैशाख ६ गते बसेको विशेष बैठकले स्वास्थ्य शिक्षा, स्वास्थ्य चेतना र नेत्र चिकित्साको सेवाद्वारा नेपाली समाजलाई स्वस्थ, समृद्ध र समुन्नत बनाउन महत्वपूर्ण योगदान गरी विश्व समुदायमा नेपाल र नेपाली जातिको परिचय, पहिचान र प्रतिष्ठा उच्च र अक्षुण्ण राख्न विशिष्ट योगदान गर्नु हुने वरिष्ठ चिकित्सक श्री डा. सन्दुक रुईतलाई वि.सं. २०८० सालको वसुन्धराश्री पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ।
त्यसै गरी प्रज्ञाप्रतिष्ठानको उक्त विशेष बैठकले राष्ट्रिय आविष्कार केन्द्रको माध्यमबाट नेपालमा विज्ञान तथा प्रविधिको विकासमा महत्वपूर्ण योगदान गरी विश्व समुदायमा नेपाल र नेपाली जातिको परिचय, पहिचान र प्रतिष्ठा उच्च र अक्षुण्ण राख्न विशिष्ट योगदान गर्नु हुने वरिष्ठ वैज्ञानिक श्री डा. महावीर पुनलाई वि.सं. २०८० सालको मानश्री पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ।
वि.सं.२०११ भाद्र १९ गते ताप्लेजुङ जिल्लाको ओलाङचुङगोलामा जन्मनु भएका श्री डा. सन्दुक रुईतले तीलगंगा आँखा अस्पताल एवं सयौँ शिविरको संचालनद्वारा लाखौँ स्वदेशी तथा विदेशी नागरिकहरूको आँखा उपचार गरी मानवताको सेवा गर्नु भएको छ । श्री रुईत यसअघि उज्ज्वल कीर्तिमय राष्ट्रदीप, इसा सम्मान, रोमन म्यागासेसे र पद्मश्री विभूषण लगायत दर्जनौं सम्मान तथा पुरस्कारबाट सम्मानित भइसक्नु भएको छ ।
वि.सं. २०११ माघ ९ गते म्याग्दी जिल्लाको नांगीमा जन्मनु भएका श्री डा. महावीर पुनले नेपालमा शिक्षा, संचार प्रविधि र विज्ञानको विकासमा पुर्याउनु भएको अतुलनीय योगदानका लागि रोमन म्यागासेसे र जोनाथन पोस्टेललगायत दर्जनौं सम्मान, पदक तथा पुरस्कारद्वारा सम्मानित भइसक्नु भएको छ ।
यसअघि वसुन्धराश्री पुरस्कारद्वारा कविवर श्री माधवप्रसाद घिमिरे (वि.सं.२०५७), वरिष्ठ उपन्यासकार श्री दौलतविक्रम विष्ट (वि.सं. २०५८), वरिष्ठ कथाकार तथा नाटककार श्री गोविन्दबहादुर मल्ल ‘गोठाले’ (वि.सं. २०५९) वरिष्ठ समालोचक श्री यदुनाथ खनाल (वि.सं. २०६०), वरिष्ठ आख्यानकार श्री मदनमणि दीक्षित (वि.सं. २०६१), वरिष्ठ उपन्यासकार श्री डायमनशमशेर राणा (वि.सं. २०६२), वरिष्ठ साहित्यकार श्री इन्द्रबहादुर राई (वि.सं. २०६३) लाई प्रदान गरिएको छ।
यस्तै वरिष्ठ कवि श्री मोहन कोइराला (वि.सं. २०६४), वरिष्ठ संस्कृतिविद् श्री सत्यमोहन जोशी (वि.सं. २०६५), वरिष्ठ समालोचक श्री कृष्णचन्द्रसिंह प्रधान (वि.सं.२०६६), वरिष्ठ कवि श्री वैरागी काइँला (वि.सं. २०६७), वरिष्ठ कवि श्री धर्मराज थापा (वि.सं. २०६८), वरिष्ठ समालोचक प्रा.डा. वासुदेव त्रिपाठी (वि.सं. २०६९), वरिष्ठ चित्रकार श्री शशी शाह (वि.सं. २०७०) प्रदान गरिएको छ।
वरिष्ठ कलाकार श्री हरिप्रसाद रिमाल (वि.सं. २०७१), वरिष्ठ संगीतकार श्री अम्वर गुरुङ्ग (वि.सं. २०७२), वरिष्ठ आख्यानकार श्री लीलबहादुर क्षेत्री (वि.सं. २०७३), वरिष्ठ समालोचक प्रा. डा. तारानाथ शर्मा (वि.सं. २०७४) वरिष्ठ गायक श्री प्रेमध्वज प्रधान (वि.सं. २०७५), वरिष्ठ कलाकार श्री मदनकृष्ण श्रेष्ठ (२०७६), वरिष्ठ आख्यानकार डा. ध्रुवचन्द्र गौतम (वि.सं. २०७७), वरिष्ठ लोकगायक श्री कुमार बस्नेत (वि.सं. २०७८) र वरिष्ठ साहित्यकार श्री ठाकुरप्रसाद गुरागाईँ (वि.सं. २०७९) लाई प्रदान गरेको छ ।
त्यसैगरी प्रज्ञाप्रतिष्ठानले यसअघि मानश्री पुरस्कारद्वारा कवि तथा गीतकार श्री दिनेश अधिकारी (वि.सं. २०५७), साहित्यकार श्री विनय रावल (वि.सं २०५८), नाटककार श्री अशेष मल्ल (वि.सं २०५९), गजलकार श्री ज्ञानुवाकर पौडेल (वि.सं. २०६०), साहित्यकार श्री मञ्जुल (वि.सं. २०६१), कथाकार श्री मधुवन पौडेल (वि.सं. २०६२), कवि श्री विष्णुविभु घिमिरे (वि.सं. २०६३)लाई प्रदान गरेको छ।
कवि श्री कृष्णभूषण बल (वि.सं. २०६४), कथाकार श्री भुवन ढुंगाना (वि.सं. २०६५), कथाकार श्री सनत रेग्मी (वि.सं. २०६६), कवि श्री विजय बजिमय (वि.सं. २०६७), समालोचक डा. रामदयाल राकेश (वि.सं. २०६८), कथाकार डा. वेञ्जु शर्मा (वि.सं. २०६९), चित्रकार श्री किरण मानन्धर (वि.सं. २०७०), कलाकार श्री नीर शाह (वि.सं. २०७१), गायक श्री दीप श्रेष्ठ (वि.सं. २०७२), साहित्यकार श्री दुर्गाप्रसाद श्रेष्ठ (वि.सं. २०७३), साहित्यकार तथा सञ्चारकर्मी श्री खगेन्द्र नेपाली (वि.सं. २०७४) गायक श्री भक्तराज आचार्य (वि.सं. २०७५), कलाकार श्री हरिवंश आचार्य (वि.सं २०७६), साहित्यकार सरुभक्त (वि.सं. २०७७), गायिका श्रीमती मीरा राणा (वि.सं. २०७८) र कलाकार श्री थानबहादुर रावल (वि.सं. २०७९) लाई प्रदान गरेको छ ।
२०८०/१/६ कृसु क्षेत्री
सदस्य-सचिव















