अमेरिकामा नानीबाबुले गाए नेपाली राष्ट्रिय गान…
सयौं थुँगा फुलका हामी एउटै माला नेपाली
सार्वभौम भइ फैलिएका….
यो हो नेपाली राष्ट्रिय गान । परदेशमा भएका अभिभावकहरु सायदैलाई कण्ठस्थ छ होला यो नयाँ राष्ट्रिय गान । तर, परदेशमै जन्मे हुर्केका कलिला नानीबाबुहरुले स्वर खुलाएरै गाउन थालेका छन् । केही दिनअघि अमेरिकाको मेरील्याण्ड राज्यको मुख्य शहर बाल्टिमोरमा नानीबाबुहरुले समुहमा सुरिलो स्वरमा गाए । बैठक कक्षमा रहेका सबैलाई रोमाञ्चित हुने गरी उनीहरुले गाएको राष्ट्रिय गानले गैरआवासीयलाई नेपालसम्म पुर्यायो ।
कार्यक्रम थियो, नयाँ वर्ष २०८० को शुभकामनाको । आयोजक थियो बाल्टिमोर एसोसिएसन अफ नेपालीज् इन अमेरिका (बाना) । राष्ट्रिय गान गाउने थिए बानाको भाषा कक्षाका बाबुनानीहरु । १७ अप्रिल आइतबार बानाले कार्यक्रमका लागि भाडामा लिएको हलमा ठूलाका भाषण कम सुनियो, सानाको स्वर बढी । नानीबाबुहरुको प्रस्तुती बेजोड थियो ।

ठूलाका छोटकरी मन्तव्य थोरै समयमा सकेर बालबालिकाको हातमा माइक पुग्यो । माइक लिएर मञ्चमा उक्लिएकी पाँच वर्षीया सुरभी लुईटेलले तोतेबोलीमै भनिन, नयाँ वर्षको शुभकामना ।
‘नमस्कार मेरो नाम सुरवी लुइटेल हो। तपाईहरुलाई नयाँ वर्ष २०८० को धेरै धेरै शुभ कामना। धन्यवाद।’ सुरभीको तोते बोलीले हलको माहोल रोमाञ्चित बनेको थियो।
त्यसपछि क्रमश: बालबोलीहरु लयवद्धभएर गुञ्जिए । उनीहरु थिए बाना नृत्य कक्षा र भाषा कक्षामा अध्ययनरत बालबालिका । उनीहरुको प्रस्तुती हेर्न अभिभावक बाक्लै पुगेका थिए।
कर्यक्रम सुरु भएको छोटो समयमै संचालक बानाका महासचिव सागर घिमिरेले भने, ‘तपाईहरुलाई भाषण होइन साना नानीको प्रस्तुतीतर्फ लैजान्छु ।‘ त्यसपछि भाषा कक्षाका संयोजक सन्देश खड्का बोले, ’झण्डै १३ साता पढेका नानीबाबुबाटै हाम्रा उपलब्धी देखाउँछौं ।‘
खड्काले काक्षा सञ्चालन गर्ने टिमलाई चिनाए । त्यसपछि भाषाका विद्यार्थी स्वर्णिमा त्रिपाठी र क्रिस्टिना कडेलले माइक पाए । उनीहरुको उद्घोषणसँगै साना नानीहरुले नेपाली राष्ट्रिय गानको स्वर फिराएका थिए । स्वर्णिमाले सोधिन्, ‘कस्तो लाग्यो ?’ क्रिस्टिनाले भनिन्, ‘नेपालमै छु जस्तो भयो ।’

बैठक कक्षमा भाषा कक्षाका नानीबाबु नेपाली भेषभुषाका पहिरनमा थिए । कुसुम भुजेल, सुचना खड्का, निसिजा मगर, करुणा शर्माले मुखाखार फुल बुट्टे सारी बोलको गीत सुनाए ।
नानीबाबुहरुले दर्जन नृत्य प्रस्तुती तथा शुभकामना सन्देशका प्रस्तुतीहरु दिएका थिए । बालबालिकाको प्रस्तुतीअघि बानाका पूर्व अध्यक्ष कुलमणि आचार्य र अनु वन्त, पूर्व महासचिव प्रभु थापा,साथी बाल्टिमोरका निवर्तमान अध्यक्ष रमेश भट्ट लगायतले छोटकरी शुभकमना मन्तव्य राखेका थिए ।
साना नानीबाबुको प्रस्तुती हेरिसकेपछि कार्यक्रममा पुगेका अन्य बालबालिकाहरुमा पनि नेपाली भाषाप्रतिको आकर्षण बढेको अभिभावकहरुले बताएका थिए ।
बालबालिकाको व्यक्तित्वमा बहुआयामिक बिकासको बातावरण बनाउन भाषा तथा नृत्य कक्षा सञ्चालन गरिएको बानाका अध्यक्ष सुवोध विलास पन्तको भनाइ छ ।

’अंग्रेजी मात्र बोल्ने नेपाली बच्चाहरु अहिले नेपाली बोल्ने र अक्षर चिन्ने भएका छन् । उनीहरुलाई प्लेफर्म दिँदा भविश्यमा नेपालसँग जोड्न सकिन्छ भनेर हामीले यो प्रयास गरेका हौं ।’ पन्तले भने, ‘तिनै बच्चाहरुबाट नयाँ वर्षको कार्यक्रममा प्रस्तुती दिँदा ओहो यस्तो पनि हुदो रहेछ भन्ने अनुभूत सबैलाई भएको महसुस गरेको छु । आज नाच्ने गाउने कतिपयले नेपाल देखेका पनि छैनन् ।’
संयोजक खड्काका अनुसार नृत्य तथा भाषा कक्षामा ९३ विद्यार्थी छन् । पाँचदेखि नौ वर्ष र नौ देखि १५ वर्ष गरि दुई समुहमा कक्षा सञ्चालन हुने गरेको छ ।
कोभिडका कारण रोकिएको भाषा कक्षालाई नयाँ ढंगले सुचारु गरिएको बाना अध्यक्ष पन्तले जानकारी दिए । यो कार्यक्रमले नेपाली मुलका बालबालिकालाई मातृभाषा बोल्न र समाजसँग घुलमिल हुन सहज बनाउने भाषा कक्षाका संयोजक खड्काले बताए ।














