मेरील्याण्ड हिन्दु बुद्ध मन्दिरमा शलिनाको प्रश्न : लेमनमा डलर बील कसरी छिर्यो ?

मेरील्याण्ड,अमेरिका / अप्रिल महिनाको १६ तारिक आइतवार,मध्यान्नको बाह्र बजिसकेको थियो। घाम पनि थाप्लो माथि थियो। भुई तातेर होला,जाडो राम्रो सँग ननिख्रिए पनि ‘हप्प’ थियो मौषम,शरिरबाट पशिना चुहिएला चुहिएला जस्तै गरि ।
मेरील्याण्ड स्थित हिन्दू बुद्ध मन्दिर प्राङ्गणको कुरा हो यो। मन्दिरद्वारा संचालित नेपाली पाठशालाले नयाँ वर्षको उपलक्षमा गरेको जादु प्रदर्शनी पछिको माहोल।
अघि सम्म त्यही घामको प्रवाह नगरि चौरमा बसेर प्रख्यात जादुगर तिमोथी हलको जादु हेर्दै गरेकाहरु पातलिदै थिए। कतिपय बालबालिकालाई भोक पनि थियो की । सबै जना पार्किङमा जान हतारिदै थिए।
तर शलिना शर्मा भने दुई टुक्रा भएको ‘लेमन'(कागती) हातमा लिएर जिज्ञासा राख्दै थिइन ‘लेमनमा डलर बील (एक डलरको नोट) कसरी छिर्यो।’
शलिना मात्र होइन, त्यहाँ रहेका करिव एक सय जनाको प्रश्न त्यस्तै थियो। हुन पनि उपस्थित सबैलाई आश्चर्य पार्ने गरि जादुगरले आफ्नो कला देखाएका थिए।
उनले हेर्दै नहेरी अरुले बनाएको चित्र उतार्ने, एक डलरलाई एक सय डलर बनाउने, गिलासको पानि गायव गर्ने, तासको पत्ति लुकाउने कला देखाएका थिए।
तर सबै भन्दा रोचक लेमनमा डलर बील घुसेको थियो। हस्ताक्षर गरेको डलर बील हराएको थियो । पछि त्यो बील लेमनमा भेटिएको थियो। जादुगरले बाकस भित्र रहेको लेमन चक्कुले काटेर दुई टुक्रा बनाएका थिए।
शलिनाकी छोरी सान्भीले जादुगरको कलामा सहभागि हुदै डलरमा हस्ताक्षर गरेकी थिइन्। त्यो हस्ताक्षर गरेको बील सानो खाममा राखिएको थियो । एक घण्टाको कार्यक्रमले सबैलाई त्यो कसरी भयो भन्ने बनाएको थियो। विद्यार्थी र अभिभावक सबैले चासो मानेर जादु हेरेका थिए।
त्यसैका लागि कार्यक्रम राखिएको नेपाली पाठशालाका संयोजक तरुण पौडेलको भनाई छ। पाठशालामा अहिले ५३ जनाले नेपाली भाषा सिक्दै आएका छन्। हरेक आइतवार कक्षा संचालन हुन्छ। संयोजक पौडेलका अनुसार विद्यार्थीहरुका लागि महिनामा एउटा अतिरिक्त कार्यक्रम राख्ने गरिएको छ।
‘यहाँ (मेरील्याण्डमा) समुदाय बन्दै आयो, कुमार कार्कीजीले (तेक्वान्दो प्रशिक्षक) आइतवार ठाँउ दिनु भएको थियो, कोरोना भन्दा पहिला पनि कक्षा हुन्थो।’ पाठशालाका बारेमा पौडेलले समाज टाइम्स सँग भने,’बीचमा रोकिएको थियो त्यही नेटवर्कलाई प्रयोग गरेर, सांस्कृतिक पक्ष पनि मिसाएर पुन कक्षा संचालन गरिएको हो।’
दोस्रो पुस्तामा नेटवर्क बनाउन पनि भाषा कक्षाले सहयोग गर्ने पौडेलको भनाई छ।
‘उनीहरु बीचमा साथी साथी हुनु पर्यो, नेपाली नेपालीको दोस्रो पुस्ता बीचमा भाइचारा भयो, साथीभाइ भन्यो भने उनीहरुको नेटवर्कले ए यो त हाम्रो मन्दिर हो भन्यो भने हुन्छ।’ पौडेल भन्छन्, ‘सहयोग जुटीरह्यो भने मन्दिर पनि चलि रहन्छ नत्र भोलिको पुस्तालाई कहाँ हाम्रो संस्कृति जोगाउने भन्ने हुन्छ र ?’
भाषा सिक्न आउनेलाई नेपाली संस्कृतिको जानकारी दिनु पर्छ भनेर मन्दिरमा नै कक्षा संचालन गरिएको संयोजक पौडेलको भनाइ छ।
‘नेपाल आफ्नै संस्कृति, विभिन्न चाड पर्व छन्, तर तीनको बारेमा बालबालिकालाई थाहै छैन्,अहिले हाम्रो नयाँ वर्ष मनाउने क्रममा उनीहरुलाई जादु देखाइएको हो।’ पौडेलले भने।
जादु अगाडि पाठशालाकी शिक्षिका बिष्णु शर्माले नेपाली नयाँ वर्ष र यसको सांस्कृतिक महत्वको बारेमा दोस्रो पुस्तालाई जानकारी दिएकी थिइन्।
नयाँ वर्ष र जादुको के सम्वन्ध
जादुले बालबालिकालाई चलाख, जिज्ञासु बनाउने र कुनै पनि कुरा सिक्न सहयोगि हुने पौडेलको भनाई छ। ‘जादु त कला पनि हो नी नेपालमा पो चटक भन्छन यहाँ त विश्वविद्यालय नै छन्, स्कूलमा पनि राखिन्छ। उनीहरुलाई मानशिक परिश्रम गराएर जिज्ञासु बनाउछ।’
बालबालिकाहरुका लागि कार्यक्रम गर्दा उनीहरुका लागि कसरी प्रभावकारी हुन्छ भनेर पनि हेर्नु पर्ने पौडैलको तर्क छ।
‘बच्चाहरु पनि जादुमा खुसी हुन्छन। भिडियो गेम हेर्नु भन्दा त लाइभ जादु हेर्दा राम्रो त्यसले उनीहरुलाई टाठो पनि बनाउछ। उनीहरु के मा रमाउछन कुन कुराले उनीहरुलाई छुन्छ भन्ने पनि हो। एक घण्टा सम्म उनीहरुले ध्यान दिएर कार्यक्रम हेरे।’
अभिभावकबाट पनि राम्रो प्रतिक्रिया आएको पौडेलको अनुभव छ। ‘पछि अभिभावकले पनि यसरी नेपाली बच्चाहरुले नचलि कार्यक्रम हेरेको पहिलो पटक देख्यौ भनेर भने। नेपाली भाषा र संस्कृति सिकेका बच्चा अरु भन्दा अनुशाशित छन् भन्ने सामाजिक रुपमा धेरैले भनेका छन्। दुई भाषा जाने पछि ट्यालेण्ट त भइहाले त्यस माथि अनुशासित पनि हुन्छन।’
पौडेलका अनुसार अर्को हप्ता पृथ्वी दिवसको अवसर पारेर खेतीपाती कसरी हुन्छ भनेर सिकाइने छ। अप्रिल २३ तारिक आइतवार १२ बजे भाषा कक्षा पछि हिन्दू बुद्ध मन्दिरमा (12231 Harford Rd, Glen Arm, MD 21057) मा कार्यक्रम राखिएको छ।
जादुको पुरा भिडियो