हिमालयन तेक्वान्दो ह्यारिसबर्गको छलाङ्ग,एघार जनालाई पहिलो पटक ‘दोस्रो डिग्री ब्ल्याक बेल्ट’

पेन्सिलभेनिया, अमेरिका / पेन्सिलभेनिया राज्यको ह्यारिसबर्गमा रहेको हिमालयन तेक्वान्दो स्कूलले छलाङ्ग मारेको छ।
सन् २०१८ सालमा स्थापना भएको स्कूलबाट पहिलो पटक एघार जनाले ‘दोस्रो डिग्री ब्ल्याक बेल्ट’ पाएका छन्।
ह्यारिसबर्ग स्थित हिमालयन तेक्वान्दोको आफ्नै स्कूलमा अप्रिल १६ तारिक आइतवार सम्पन्न ग्रेडिङमा उत्रिर्ण हुदै उनीहरुले विश्व तेक्वान्दो महासंघ (डब्लुटीएफ) अन्तर्गत कुकिवानको प्रमाण पत्र समेत प्राप्त गरे।
यसै गरि थप एघार जनाले ब्ल्याक बेल्टका लागि प्रिलिमेनरी टेष्ट पनि दिएका छन्।
‘हाम्रोबाट चौथो ब्याचले ब्ल्याक बेल्टका लागि प्रिलिमिनरी टेष्ट गरे, पहिलो ग्रुप दोस्रो डिग्रि ब्ल्याक बेल्ट गरे।’ हिमालयन तेक्वान्दोका संचालक तथा प्रमुख प्रशिक्षक नकुल शर्माले समाज टाइम्स सँग भने।
छैटौ डान सिनियर मास्टर्स कुमार कार्कीको नेतृवमा मास्टर मुसा तोरे लगायतको टोलीले खेलाडीको टेष्ट लिएका थिए। उनीहरुलाई आइतवार नै प्रमाण पत्र दिइएको प्रशिक्षक शर्माको भनाई छ।



‘हिमालयन तेक्वान्दोले संघर्ष गरेर आज दोस्रो डिग्रि ब्ल्याक बेल्ट पाउन सफल भयो, म निकै खुसी छु, पाँच वर्षमा यो सफलता पाउनु ठूलै उपलब्धी हो ।’ शर्माले भने।
उनका अनुसार एक सय भन्दा बढी खेलाडी स्कूलमा नियमित प्रशिक्षणमा छन्।
गत अक्टोवर १६ तारिकमा पनि तेस्रो ब्याचको ग्रेडिङ हुदाँ पाँचले ब्ल्याल्क बेल्ट पाएका थिए। शर्माका अनुसार हिमालयन तेक्वान्दोबाट पहिलो व्याचमा १३ जनाले ब्याल्क बेल्ट लिएका थिए। यस्तै दोस्रो ब्याचमा चार जनाले ब्याल्क बेल्ट लिएका थिए।