राराको बफरजोनमा पुग्दैछन् पर्यटन ब्यवसायी, २० करोडसम्मको लगानीमा खुल्न थाले रिसोर्ट

मुगु / रारा राष्ट्रिय निकुन्ज क्षेत्रका भौतिक संरचना हटाउने तयारीसँगै बफर जोनमा होमस्टेहरु बढेका छन्। राराको किनारमा रहेको नेपाली सेनाको ब्यारेक, निकुन्जको कार्यालयसँगै डाँफे गेष्ट हाउस समेत हटाउने प्रक्रिया शुरु भइसकेको छ।
निकुन्जका वार्डेन विश्वबहादुर श्रेष्ठका अनुसार निकुञ्जको कोर क्षेत्रमा रहेका सबै भौतिक संरचना सार्ने तयारी शुरु भइसकेको छ। सेनासँगै निकुञ्जको कार्यालय सार्न कोर क्षेत्र बाहिर भौतिक संरचना निर्माणको काम शुरु भइसक्यो।
‘ताल वरिपरि अब कुनै भौतिक संरचना रहँदैन सबै सर्छन्’ वार्डेन श्रेष्ठले भने’ ताल नजिक रहेको गेष्ट हाउस पनि अब रहन्न।’
बढ्दो पर्यटक, तर बस्नकै चिन्ता
वार्डेन श्रेष्ठका अनुसार यस अगाडि आन्तरिक पर्यटकको संख्या पातलो भए पनि पछिल्लो समय भने एकै दिन तीन सयसम्म नेपाली ताल क्षेत्रमा पुगेका छन्।
तर सो क्षेत्रमा खाने अनी बस्नेकै चिन्ताले पर्यटकहरू ताल क्षेत्रमा पुगेर भ्याए बोटिङसम्म गर्ने, नभ्याए तालमा पुगेको तस्बिर खिचेर फर्किहाल्ने गरेका छन्।
त्यसमा ताल पारी रहेको एकमात्र गेष्ट हाउस पनि हट्ने भएको छ। श्रेष्ठले निकुन्जको कोर क्षेत्रमा कुनै भौतिक संरचना नरहे पनि
त्यसको बिकल्पमा बफर जोन क्षेत्रमा होमस्टेहरु बढेको बताउँछन्।

अहिले रारा क्षेत्रमा खान र बस्न समस्या नभए पनि जाकारीको अभावमा राराको प्राकृतिक सुन्दरतामा रम्नै नपाई पर्यटकहरू फर्किने गरेको उनले बताए।
‘तालबाट देब्रेतिर बफर जोन छ। त्यहाँ पर्यटकको आर्थिक योजना अनुसारका रिसोर्ट र होमस्टे छन्’ श्रेष्ठले भने’ तर धेरैलाई यो थाहा नहुँदा रारामै बस्ने योजनासहित आउने पर्यटकको संख्या कम छ।’
बफर जोन रहेको छायाँनाथ रारा गाउँपालिका वडा नम्बर ९ का वडाध्यक्ष बिर्खबहादुर रोकाया रारा आउने नै हो भने दुई तीन दिनको योजना बनाएर आउन सुझाव दिन्छन्।
‘रारा ताल नजिकैबाट जति शुन्दर देखिन्छ मुर्माकोटबाट त्यो भन्दा शुन्दर देखिन्छ’ रोकायाले भने’ जसलाई मुर्माकोट थाहा छ उहाँहरू आउनुहुन्छ। धेरै तालको फोटो खिचेर फर्किहाल्नुहुन्छ।’

उनले कोर क्षेत्रमा भौतिक संरचना नरहने पक्का भएसँगै बफर जोनमा ब्यवसायीहरु आउनेक्रम बढेको बताए। रोकायाका अनुसार अहिले नै आधा दर्जनबढि रिसोर्ट र होमस्टे सन्चालनमा छन्।
मुर्माकोट क्षेत्रमा यस अगाडि नै रारा इको रिसोर्ट, रारा कल्चरल होमस्टे लगायत सन्चालनमा छन्।
सो क्षेत्रको अधिकांश स्थानीयको जमिन ब्यवसायीहरुले किनिसकेको र पर्यटन क्षेत्रमा कहलिएमा ब्यवसायीहरु समेत आएर रिसोर्ट खोल्ने तयारीमा रहेको रोकायाले बताए ।
यसै साता पाँच करोड लगानीमा रारा भिलेज रिसोर्ट सन्चालनमा आएको छ। रारा ताल, छायाँनाथ हिमाल क्षेत्र प्रष्ट देख्न सकिने स्थानमा खुलेको रिसोर्ट पूर्ण हुन २५ करोड लाग्ने रारा भिलेज रिसोर्ट प्रालिका अध्यक्ष अनुपविक्रम शाहले बताए।
‘रारामा बस्नै पाइदैन, चाहेजस्तो खानै पाइदैन भन्ने सन्देश फैलिएको छ,’शाहले भने’ अब रारा आउँदा खाने बस्ने चिन्ता नलिए हुन्छ। रारामा आउँदा तालमा फोटो खिचेर फर्किहाल्नु पर्दैन। हामीसँगै एकै दिन ५० पर्यटकलाई राख्नसक्ने क्षमता छ। हामी जस्तै अन्य होमस्टे पनि छन्। ढुक्क भएर रारा आए हुन्छ।’

रारा क्षेत्रको समस्या नै पर्यटकको बसाई लम्ब्याउन नसक्नु रहेको शाहको अनुभव छ। तालसँगैका मुर्मा गाउँ, मुराकोटको भर्मण गराउन सके पर्यटकको बसाई लम्बिने उनले बताए।
आन्तरिक र बाह्य पर्यटकको बसाई लम्ब्याउने योजमासहितै आफुहरु जोखिम लिएर लगानी गर्न आएको उनले बताए।
‘रारा क्षेत्रको सम्पत्ति भनेको प्रकृति हो। रिसोर्ट, होटल जे बने पनि आँखामा नबिझ्ने गरि बनाउनै पर्छ’ उनले भने’ आन्तरिक पर्यटक लक्षित मुल्यसहितको सुविधा दिन सके रारा आउने धेरैको सपना पूरा गर्न सकिन्छ।
त्यसैका लागि २० रोपनी क्षेत्रफलमा परम्परागत बस्तीकै शैलीमा रिसोर्ट बनाएर क्षमता बढाउँछौ।’
रारा पुग्ने पर्यटक कमै पुग्छन् मुर्माकोट
ताल क्षेत्रबाट पैदल करिब तीन घन्टामा मुर्माकोट पुग्न सकिन्छ जहाँबाट राराको सबै क्षेत्रसहितको शुन्दर दृष्यसँगै छयाँनाथसहितका हिमाली दृष्य हेर्न सकिन्छ।
तालको देब्रेतिर करिव आधा घन्टा तेर्सो हिँडेपछि मुर्मा क्षेत्र आइपुग्छ। अनी दुई घन्टा उकालो चढेपछि मुर्माकोट पुगिन्छ। हिँड्न सक्नेका लागि लोठसल्लाहको जंगलहुँदै जान रमाइलो हुन्छ। हिँड्न नसक्नेका लागि घोडा जति पनि पाइन्छ।
फोटो : केपी ढुङ्गना