पेन्सिलभेनियामा सम्पन्न अन्तर्राष्ट्रिय स्प्रीङ्ग महोत्सव : नेपाल चिनाउने प्रयास (भिडियो सहित)

Getting your Trinity Audio player ready...
|
पेन्सिलभेनिया,अमेरिका / पेन्सिलभेनियाको मोन्टगोमरी काउन्टीमा शनिवार सम्पन्न अन्तर्राष्ट्रिय स्प्रीङ्ग महोत्सवमा नेपालीहरुले पनि उल्लेख्य सहभागिता जनाएका छन्।
अन्तर्राष्ट्रिय महोत्सव फाउन्डेसन (आइएफएफ) ले ३४ वर्ष देखि महोत्सव आयोजना गर्दै आएको छ।
महोत्सवलाई राज्यमा हुने सबैभन्दा ठूलो विविधता झल्काउने कार्यक्रमको मान्यता दिने गरिएको छ। नर्थ पेन हाई स्कूलमा हरेक वर्ष अप्रिल महिना यो महोत्सव आयोजना गर्ने गरिन्छ।
आयोजकका अनुसार समुदाय भित्रका विभिन्न संस्कृतिका बारेमा सचेतना ल्याउन महोत्सव गरिदै आइएको छ। विभन्न समुदायको कला, संगीत, खाना र शैक्षिक गतिविधिहरू महोत्सव मार्फत अर्को समुदायलाई जानकारी गराउने र यसले समुदायको समृद्धि हुने आयोजकको विश्वास छ।

महोत्सवमा अन्तर्राष्ट्रिय खाना, संगीत, मनोरञ्जन, स्वास्थ्य मेला र बालबालिकाका धेरै गतिविधिहरू समावेश गरिएका थिए ।
शनिवार विहान एघार बजे शुरु भएको महोत्सव साँझ पाँच बजे सम्म चलेको थियो। यस पटक २२ देशले सहभागिता जनाएको आयोजकको भनाइ छ।
भव्य परेडबाट महोत्सब शुरु भएको थियो। आफ्नो पहिचान झल्काउने पोशाकमा हातमा राष्ट्रिय झण्डा लिएर नेपालीहरु परेडमा सहभागि भएका थिए।
परेड पछि भित्र हलमा सांस्कृति कार्यक्रम गरिएको थियो। नेपाली बालबालिकाले पनि नृत्य प्रस्तुत गरेका थिए। महोत्सवमा विभन्न देशका उत्पादन र खानाको प्रदर्शनी गरिएको थियो।
तामाङ्ग सोसाइटी अफ पेन्सिलभेनियाको नाममा बुकिङ्ग गरिएको स्टलमा नेपाली झण्डा, बुद्दका मूर्ति, रुद्राक्षको माला सहित विभिन्न हस्तकलाका उत्पादन राखिएको थियो।
मुख्य मञ्चमा निर्वाचित संघीय, प्रदेश र स्थानीय अधिकारीहरू, कानून प्रवर्तनका सदस्यहरू, समुदाय, व्यापार, धार्मिक र शैक्षिक नेताहरूको उपस्थिति थिए।
लामो समय देखि महोत्सवलाई समर्थन गर्ने गभर्नर जोश शापिरोलाई बधाई पठाउन सबै सहभागीहरूलाई २०-फिट पोस्टरमा विविध भाषा हस्ताक्षर गर्ने अवसर पनि दिइएको थियो। गभर्नर शापिरो यसै काउन्टीका बासिन्दा हुन्।
‘हाम्रो उदेश्य भनेको नेपाली पनि छन है भन्ने देखाउने हो, यो अवसर पनि हो,हाम्रो पहिचानका लागि जतिसक्दो धेरै उपस्थित हुने भन्ने थियो,राम्रो भयो।’ महोत्सवमा सहभागि पेन्सिलभेनिया नेपाली गुठीका अध्यक्ष विमल मोक्तानले समाज टाइम्स सँग भने।’नेपालीको झण्डा अलग्गै छ, टोपी पनि फरक छ, हामी छिट्टै चिनिन्छौ।’
यस्तै मोन्टगोमरी काउन्टी नेपाली लायन्स क्लवका अध्यक्ष जयन्द्र लामाले यस पटकको सहभागिताले उत्साहित भएको बताए।
यस्तै तामाङ्ग सोसाइटी अफ पेन्सिलभेनियाका कविलाल घिसिङ्गले नेपाल चिनाउने प्रयास गरिएको बताए। ‘अझै धेरै नै गर्न सकिन्छ, हामी नेपालको पर्यटनको प्रचार प्रसार गर्न सक्यौ, हामी सँग बहुसंस्कृति छ भनेर देखाउन सक्यौ।’ उनले भने।
अन्तर्राष्ट्रिय महोत्सव फाउन्डेसन (आइएफएफ) सांस्कृतिक कमिटी सदस्य मनिष इग्लेले नेपाली सहभागितामा खुसी व्यक्त गरे। ‘म लामो समय देखि यो महोत्सवको आयोजक कमिटीमा रहेर काम गर्दै आएको छु। यस पटक नेपालीहरुको सहभागिता उल्लेख्य रह्यो।’