जनगुनासो सुल्झाउन एनआरएनए अमेरिकाले दूतावाससँग सहकार्य गर्ने

पेन्सिलभेनिया, अमेरिका / अमेरिका स्थित नेपाली दुतावासका सेवा सुविधाबारेमा आउने गरेका जन गुनासाहरु कम गर्न गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिका र दुतावासले सहकार्य गर्ने भएका छन्।
सर्वसाधरणले खेप्दै आएको सास्ति कम गर्न एनआरएनए अमेरिकाका पदाधिकारीले राखेको प्रस्तावलाई अमेरिकाका लागि नेपाली राजदुत श्रीधर खत्रीले स्वीकार गरेका हुन्।
एनआरएनए अमेरिकाका अध्यक्ष बुद्धि सुवेदीको नेतृत्वको टोलीले गत बुधवार राजदुता खत्री सँग भेट गरेको थियो। एनआरएनए अमेरिकाले हालसम्म गरेका महत्त्वपूर्ण कार्यहरूको जानकारी गराउनुका साथै राजदूतावासबाट नेपाली समुदायले लिने र दिने सेवा सुविधा प्राप्त गर्न पर्ने कठिनाइको बारेमा जानकारी गर्न भेटघाट गरिएको एनआरएनएको भनाई छ।
‘जनगुनासाहरुलाई कसरी कम गर्ने भन्ने सम्वन्धमा छलफल भयो।’ भेटको उदेश्यबारे एनआरएनए अमेरिका अध्यक्ष सुवेदीले समाज टाइम्ससँग भने।
‘यो औपचारिक बैठक थियो।’ अध्यक्ष सुवेदीले भने, ‘राजदुत सँग मैले शुरुमा नै ह्युस्टन काण्ड के हो ? एम्बेसीले के गरिरहेको छ भनेर सोधे। जवाफमा राजदुत खत्रीले विषेश परिस्थितका कारण सरकार सँग समन्वय गरेर काम गर्दा केही ढिला भएको तर अब चाडै नै टुङ्गोमा पुग्ने बताउनु भयो।’
दुतावासका कर्मचारी घुम्ति शिविरमा जादा सर्वसाधरणको चेक तथा मनि अडर भएको झोला चोरी भएको थियो। पछि दुतावासले सेवाग्रहीलाई पुरानो चेक वा मनिअडर रद्द गरि नयाँ पठाउन भनेको थियो। जुन कमदको व्यापक आलोचना भएपछि नेपाल सरकारले क्षतपूर्ति आफुले बेहोर्ने र सेवाग्राहीको काम नरोक्ने निर्णय गरेको थियो।
‘उहाँले समय अलि बढी लाग्यो सरी त्यसका लागि । हामीले पनि नेपाल सरकार सँग स्वीकृति लिएर सबै गर्नु पर्ने भएकोले टाइम धेरै लाग्यो, चालिस जना जतिको टुङ्गिएको छैन उहाँहरुको लेख्दा केही त्रुटी भएर हो पैसाको कारणले रोकिएको होइन हामी चाडो टुङ्गाउने पक्षमा छौ भन्नु भयो।’ अध्यक्ष सुवेदीले भने।
दुतावासको फोन नउठ्ने गुनासोका बारेमा पनि आफुहरुले प्रश्न उठाएको अध्यक्ष सुवेदीले बताए। ‘फोन नउठ्ने अंग्रेजीमा मात्र बोल्न पर्ने गुनासो छ तपाईहरुको फोन नउठेर हाम्रो सचिवालयले जवाफ दिनु परेको छ भनेर भन्यौ।’
सुवेदीका अनुसार जवाफमा राजदुतले यो पुरानै समस्या भएको, आफुले पनि समाधानका उपाय खोजेको बताएका थिए। ‘शंकर शर्माजीको पाला देखिकै समस्या रहेछ, मैले पनि समाधान खोजेको हो तर एउटै फोनको जवाफ दिदा ३०-४० मिनेट समय खर्च हुन्छ त्यो बेला आएका फोन नउठ्न सक्छ।’
राजदुत खत्रीले उपायका बारेमा एनआरएनए पादधिकारीलाई सोधेका थिए। ‘त्यो बेलामा के गर्न सकिन्छ तपाईको सल्लाह सुझाव पाँउ हामीले कर्मचारी बढाउन सक्दैनौ उरु उपाय भए गरौ।’
त्यस पछि आफुहरुले एनआरएनएको सचिवालयले दुतावास सँग सहकार्य गर्ने प्रस्ताव गरेको सुवेदीको भनाई छ। ‘राजदुतको भनाई पछि हामीले हाम्रो सचिवालय छ, कर्मचारी पनि छ, धेरै जसो फोन पासपोर्ट, टिपिएस र एनआरएनए कार्डका बारेमा आउने रहेछन, हाम्रो सचिवालयलाई प्रशिक्षण दिनुस भन्यौ, उहाँहरु सहमत हुनु भएको छ।’
ह्युस्टन काण्ड पछि रोकिएको घुम्तिशिविरलाई निरन्तरता दिन पनि आफुहरुले आग्रह गरेको सुवेदीको भनाई छ। ‘ जे हुनु भयो अब सतर्क हुदै सेवा निरन्तरता गर्नु पर्छ भन्यौ उहाँले एक दुई ठाँउमा बाँकी छ हामी गर्छौ भन्नु भएको छ।’
यसै गरि अबका दिनमा आउने समस्या र त्यसको समाधानका लागि हरेक तीन तीन महिनामा दुतावास र एनआरएनए बीच फिजिकल बैठक गर्ने सहमति पनि भएको अध्यक्ष सुवेदीको भनाई छ।
औपचारिक भेटघाट राजदूतको तर्फबाट राजदुत श्रीधर खत्री तथा दूतावासका इकोनोमी कन्सुलर होमाकान्त शर्मा सहभागि थिए।
एनआरएनएको तर्फबाट आइसिसी सदस्य गोविन्द सुवेदी , उपाध्यक्ष दिलु पराजुली, सचिव अनुप खनाल, अनरी काउन्सिल मेम्बर तथा नासो कम्युनिटीका अध्यक्ष राजेन्द्र कुमार सेन्चुरी थिए।
यस्तै एनआरएनए अमेरिका खेलकुद विभाग सह-संयोजक रास्वपाका अमेरिका संयोजक रमेश भट्ट, गोरखा समाजका अध्यक्ष आपार श्रेष्ठ, लुम्बिनी अल स्टारका सीओओ उत्सव सिग्देल र सामाजिक अभियन्ता तिलक खड्का पनि सहभागि भएका थिए।
सो अवसरमा गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद अमेरिकाले खरिद गरेको भवनको आगामी मे ६, २०२३ मा हुने उद्घाटनको लागि महामहिम राजदूत श्रीधर खत्रीलाई मुख्य अतिथिको रूपमा अध्यक्ष बुद्धि सागर सुवेदीले औपचारिक निमन्त्रणा-पत्र पनि हस्तान्तरण गरेको एनआरएनएको विज्ञप्तिमा उल्लेख छ।