एनआरएनले उठाएका माग सम्बोधन भएको वर्ष २०७९

पेन्सिलभेनिया, अमेरिका / गैर आवासीय नेपाली संघ (एनआरएनए) ले विक्रम सम्वत २०७९ लाई आफुहरुले उठाएको एजेन्डालाई सम्वोधन भएको वर्ष भनेको छ।
नयाँ वर्ष २०८० को शुभ कामना दिने क्रममा एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी) अध्यक्ष त्रयद्वारा संयुक्तरुपमा जारी विज्ञप्तिमा सो कुरा उल्लेख छ।
कार्यकारी अध्यक्ष डा.बद्री केसी, अध्यक्ष रबिना थापा र कुल आचार्यकले शुक्रवार जारी विज्ञप्तिमा भनेका छन्,’ गैरआवासीय नेपाली संघले उठाएका महत्वपूर्ण एजेन्डा र मागहरुको सम्बोधन यही वर्षमा भएको छ ।’
अध्यक्ष त्रयको शुभ कामना सन्देशको पूर्ण पाठ
नयाँ वर्ष २०८० को अवसरमा हार्दिक मंगलमय शुभकामना
नयाँ वर्ष २०८० को सुखद् आगमनको अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपालीहरुमा सुख, शान्ति, समृद्धि र आरोग्यका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ । वर्ष २०७९ लाई समग्र दृष्टिले हामीले उपलब्धीपूर्ण वर्षको रूपमा लिएका छौँ । गैरआवासीय नेपाली संघले उठाएका महत्वपूर्ण एजेन्डा र मागहरुको सम्बोधन यही वर्षमा भएको छ ।
नेपाल सरकारको समन्वय, सहकार्य तथा लगानीसहित नेपालभित्र करीब १० अर्ब बराबरको लगानी कोष भएको ‘एन.आर.एन नेपाल डेभलपमेण्ट कम्पनी’ दर्ता गरी हाल आवश्यक कामहरु अगाडी बढीरहेको छ । वैदेशिक रोजगारी तथा आप्रवासनलाई सुरक्षित, व्यवस्थित तथा मर्यादित बनाउनको लागि संघले नेपाल सरकारसँग समन्वय तथा सहकार्य गरिरहेको छ । ‘हजारे अभियान’को रुपमा स्थापित गरेको सामाजिक सुरक्षा कोषको अवधारणाकै विस्तृत योजनाका रुपमा भर्खरै मात्रै सरकारले ल्याएको ‘वैदेशिक रोजगारमा रहेका श्रमिक र विदेशमा स्वरोजगारमा रहेका व्यक्तिको लागि योगदानमा आधारित सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि, २०७९’ लाई संघले महत्वपूर्ण उपलब्धी ठानेको छ ।
गैरआवासीय नेपाली संघले स्थापनाकालदेखि नै माग गर्दै आएको गैरआवासीय नेपाली नागरिकताको विषय संविधानले सम्बोधन गरिसकेको छ । संविधानको मुल मर्म अनुरुप नै सो व्यवस्था छिट्टै कार्यान्वयन हुनेमा संघ विश्वस्त छ । नेपालको इतिहासमै पहिलो पटक संवैधानिक व्यवस्था बमोजिम गैरआवासीय नेपालीहरुलाई गैरआवासीय नेपाली नागरिकता प्रदान गर्न नेपालको संसदबाट दुई, दुई पटक विधेयक पारित गराउन तत्कालिन सरकारले निर्वाह गरेको भूमिका प्रति संघ हार्दिक आभार प्रकट गर्दछ ।
कोरोना महामारी माझ अक्सिजन कन्सन्ट्रेटर तथा मास्क विवतरण देखि नेपालका विभिन्न स्थानमा स्वास्थ्य शिविर सञ्चालन गरियो । गैरआवासीय नेपाली नागरिकता, लगानी तथा वैदेशिक रोजगारका विषयमा विभिन्न सत्रहरुको आयोजना गरियो भने आइओएमसँग प्रवासी कामदारको ज्ञान र सीपबारे छलफल गर्ने मौका हामीलाई प्राप्त भयो । यही वर्ष एनआरएनए स्वास्थ्य समितिको आयोजनामा चौथो विश्व नेपाली स्वास्थ्य सम्मेलन, एसिया प्रशान्त र युरोप क्षेत्रीय भेला समेत सम्पन्न भएका छन् ।
पर्यटन प्रवर्धनका सन्दर्भमा संघ तथा प्रदेशस्तरीय सहकार्य भएको छ । संघले चितवन र धनगढीमा मोबाईल ब्लड बस सेवा सञ्चालनमा ल्याईसकेको छ र बाँकी अन्य ५ प्रदेशमा संचालन गर्ने योजना अनुरुप आवश्यक कामहरु भईरहेका छन् । डोटीको भूकम्पपिडितलाई सहायता सहित झापा, गाईघाट लगायतका स्थानमा विभिन्न शिविर सञ्चालन गरिएको छ ।
विभिन्न एनसीसीहरु द्वारा विभिन्न जिल्लामा रक्तदान कार्यक्रम सहित विभिन्न परोपकारी तथा सामाजिक कार्य समेत सञ्चालन गरिएको छ । त्यस्तै विभिन्न एनसीसीको सहयोगमा नेपालका विभिन्न क्षेत्रमा मोबाइल ट्वाइलेटको अवधारण ल्याइएको छ । पोखरामा आधुनिक शौचालयको निर्माणको लागि पोखरा महानगरपालिकासँग समन्वयसहित शिलान्यास भइसकेको छ ।
नयाँ वर्ष २०८० मा पनि संघले विचाराधिन र पाइपलाइनमा रहेका एजेण्डलाई घनीभूत रुपमा अगाडी बढाउने प्रतिबद्धता जनाउँछ ।
अन्तमा, स्वदेश तथा विदेशमा रहेका समस्त नेपालीहरुमा नववर्ष २०८० ले खुशीको सञ्चारसहित सुदृढ राष्ट्रिय एकता र आत्मीय सामाजिक सद्भावसहित आर्थिक समृद्धिको लागि नयाँ जोश, उमङ्ग र उत्साह पैदा गर्न सकोस् भन्ने शुभकामना प्रकट गर्दछौँ ।
डा बद्री केसी कुल आचार्य रविना थापा
कार्यकारी अध्यक्ष अध्यक्ष अध्यक्ष