महालेखाको प्रतिवेदन भन्छ ‘एनआरएनको मुद्दा सम्बोधन भएन’

महालेखा परिक्षकको कार्यालयले विदेशमा विशेषज्ञता एवं विशिष्टता हासिल गरेका नेपालीको ज्ञान राष्ट्र निमार्णमा उपयोग गर्ने लगायतका कार्यक्रम सञ्चालन भएको नदेखिएको जनाएको छ ।
विहीबार सार्वजनिक भएको ६० औं प्रतिवेदनमा परराष्ट्र मन्त्रालय मातहत रहने गैर आवासीय नेपालीहरुको विषयमा उल्लेख गरिएको छ । ९९४ पृष्ठ लामो प्रतिवेदनको पृष्ठ ३६८ मा बजेट बक्तब्य र कार्यान्वयन शीर्षकमा यस्तो उल्लेख छ ।
‘बजेट वक्तव्य २०७८/७९ मा उल्लेख भएका यस मन्त्रालयसँग सम्बन्धित कार्यक्रमहरूमध्ये नेपालको आर्थिक कूटनीतिलाई देशगत र क्षेत्रगत लक्ष्य तोकी परिचालन गर्ने, विकास सहायता, व्यापार, लगानी, श्रम र पर्यटन प्रवर्द्धनमा अन्तर्राष्ट्रिय सहयोग बढाउने गरी आर्थिक कूटनीति सञ्चालन गर्ने लगायतका क्रियाकलाप आंशिक रूपमा कार्यान्वयन भएका छन् ।
राष्ट्रिय क्षेत्रीय र विश्वव्यापी सरोकार र चासोका विषयहरूमा सघन छलफल गरी साझा दृष्टिकोण बनाउन अन्तर्राष्ट्रिय स्तरको सगरमाथा सम्वाद आयोजना गर्ने, अन्तर्राष्ट्रिय व्यापार, सुरक्षित वैदेशिक रोजगारी, वैदेशिक लगानी र पर्यटन प्रवर्द्धनका लागि परिभाषित जिम्मेवारीसहित विदेशस्थित कूटनीतिक नियोगलाई थप क्रियाशील बनाइने, प्रवासमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न तयारी कार्य अघि बढाइने, गैरआवासीय नेपालीको ज्ञान, पुँजी र प्रविधिलाई राष्ट्रिय विकासमा उपयोग गर्न नेपाल सरकारको समेत लगानीमा स्थापित एनआरएन कोषलाई पूर्वाधार विकासमा उपयोग गर्ने, ब्रेन गेन सेन्टरलाई क्रियाशील बनाई विदेशमा विशेषज्ञता एवं विशिष्टता हासिल गरेका नेपालीको ज्ञान राष्ट्र निमार्णमा उपयोग गर्ने लगायतका कार्यक्रम सञ्चालन भएको देखिएन ।’
