मनाङ र थ्रीस्टारले अंक बाँडे
शहीद स्मारक ए डिभिजन लिग फुटबलमा मनाङ मर्स्याङ्दी फुटबल क्लब र थ्रीस्टारले बराबरी खेल्दै अंक बाँडेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज भएको खेलमा दुवै टिमले एक एक गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् ।
सुरुआती अग्रता थ्री स्टारले बनाए पनि अन्तिमसम्म जोगाउन असफल रह्यो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ७८ औं मिनेटमा थ्रीस्टारले अग्रता लियो । थ्रीस्टारलाई सन्तोष साहुखलले गोल गर्दै सुरुआती अग्रता दिलाए ।
सन्तोष ए डिभिजन लिग खेल्न हालै जापानबाट नेपाल आएका हुन् । उनी ७ वर्षपछि पहिलो पटक थ्रीस्टारको जर्सीमा मैदान उत्रिएका थिए । पहिलो खेलमै गोल गर्न सफल भए ।
८४ औं मिनेटमा मनाङले बराबरी गोल फर्काएको थियो । उसका कोफी टिमोथी कुडोले गोल गर्दै बराबरी गरेका थिए । बराबरीपछि मनाङले ७ खेलबाट १५ अंक बनाउँदै आफूलाई शीर्ष स्थानमा राखेको छ भने थ्रीस्टार ११ अंकका साथ छैटौं स्थानमा छ ।











