आँखा उपचारको क्षेत्रमा सुधार आवश्यक छ : उपराष्ट्रपति यादव
काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले दुर्गम ठाँउमा आँखा उपचार सेवा चुनौति बन्दै गएको बताएका छन् ।
आइतबार काठमाडौंमा आयोजित नेपाल आँखा अस्पतालको स्वर्ण महोत्सव २०७९ लाई सम्बोधन गर्दै उनले दुर्गम ठाँउहरुमा आँखा उपचार सेवा समस्याको रुपमा रहेको भन्दै सुधारको आवश्यकता औँल्याए ।
उनले ग्रामीण क्षेत्रमा आँखा उपचार प्रभावकारी बनाउन सरकारी, सरकारी लगायत नीजि क्षेत्रले विशेष पहल गर्नुपर्ने बताए । उनले भने ‘आँखा अस्पताल विशेष गरी दुर्गम ठाँउमा अझै चुनौतीको रुपमा रहेको छ । यो कार्यमा लागि नेपाल सरकार, सरकारि गैर सरकारी र निजी क्षेत्रबाट थप प्रयास गर्नु पर्ने देखिन्छ ।’
उनले नेपाल आँखा अस्पतालले नेतृत्वदायी भूमिका निर्वाह गरेको र आगामी दिनहरूमा अझै व्यवस्थित सेवाहरू दिने कुरामा विश्वस्त भएको बताए ।
स्वर्ण महोत्सवको अवसरमा नेपाल आँखा अस्पतालको स्मारिका लोकार्पण गरेसँगै अस्पतालका अध्यक्ष डा. गोपाल प्रसाद पोखरेल, स्वर्ण महोत्सव मूल समारोह समितिका संयोजक दमन बहादुर घलेले उपराष्ट्रपति यादवबाट स्वर्ण महोत्सव सिक्का प्राप्त गरेका छन् ।











