आज इस्टर सन्डे : नेपालमा पनि मनाइदै
काठमाडौं । आज (इस्टर सन्डे) अर्थात् पुनरुत्थान दिवस । ख्रिष्टियन समुदायले विभिन्न कार्यक्रमहरूको आयोजना गरी मनाईरहेका छन् ।
दिवसको अवसरमा आज नेपालमा पनि विभिन्न कार्यक्रम आयोजना भएका छन् । ख्रिष्टियन धर्मावलम्बिले आज काठमाडौंको विजुलीबजारबाट निकालेको ¥याली भृकटी मण्डपमा पुगेर समापन भएको थियो ।
¥यालीमा सहभागिले, हाम्रो प्रभु येशु ख्रिष्ट वौरि उठ्नुभएको छ , धार्मिकताले देशलाई उचाल्छ , लगायतमा प्लेकार्ड बोकेका थिए ।
इसाई धर्मगुरु येशुलाई क्रसमा चढाइएको ३ दिनमा उनी पुनरुत्थान भएको भन्ने विश्वासका साथ इस्टर सन्डे मनाइन्छ ।
रेभरेन पास्टर मोहन शर्माका अनुसार येशु ख्रिष्ट मृत्युबाट विजय भएको दिनलाई उत्साहित बनाउन सम्पूर्ण ख्रिष्टीयन समुदायले यसलाई विशेष रूपमा मनाउने गरेका छन् ।
उनले भने ‘आज हाम्रो प्रभु येशु पुनजिवित भएको दिन हो । त्यसैको विजय उत्साह मनाउन आज हामी आएका छौँ । विश्वभर यो कार्यक्रम भइरहेको छ । हाम्रो पापको लागि नै उहाँ आउनुभयो । हाम्रो उद्धारको लागि उहाँ मर्नुभयो र तेस्रो दिनमा जीवित हुनुभयो ।’
बाइबलमा उल्लेख भए अनुसार दुई हजार वर्ष पहिला शुक्रवारको दिन यशुलाई जेरुसेलमको पहाडमा क्रसमा चढाइएको थियो र त्यसको तेस्रो दिनमा उनी पुनरुत्थान भएका थिए र त्यस दिन आइतबार परेको थियो ।
इस्टर सन्डेलाई येशुको पुनरुत्थान भएको दिनको रूपमा पनि लिने गरिन्छ । यसरी इस्टर सन्डेमा पुनरुत्थान भएका यशु थप ४० दिनसम्म बाँचेको र त्यस समयकालमा उनले आफ्ना अनुयायीलाई शिक्षा दिएको र त्यसपछि स्वर्ग गएको उल्लेख छ ।
इसाई धर्मावलम्बी सिमोन जिसिले येशु ख्रिष्टको मृत्युले भन्दा पनि पुनरुथानले आफूहरूलाई विश्वासमा बलियो र उत्साहित बनाउने गरेको बताए ।
उनले भने ‘विश्वभरि नै हामी पुनरुत्थान दिवसको रूपमा मनाउँछौँ । उहाँ जन्मनु भयो मर्नु भयो र तेस्रो दिनमा फेरी वौरि उठ्नु भयो त्यसैले यो दिन हामी ख्रिष्टियनहरुको लागि महत्त्वपूर्ण छ । यहाँ मृत्युमाथि विजय भएको कुरा नै हाम्रो लागि ठुलो कुरा हो ।’
पुनरुत्थान दिवसको अवसरमा विभिन्न जिल्लाको ख्रिष्टियन धर्मावलम्विहरु एक ठाउँमा भेला भएर कार्यक्रमहरू गर्ने गरेको उनको भनाई छ ।
त्यसै गरी अर्का इसाई धर्मावलम्बी भोला विश्वकर्माले अनुसार येशु ख्रिष्टको पुनरुथानलाई भव्य बनाउने र यसले सबैलाई एक हुन प्रेरित गरेको बताए ।
उनले भने ‘प्रभु येशु ख्रिष्ट क्रृमा टाँगिनु भयो । सारा पापलाई लिएर उहाँ मर्नुभयो तर उहाँ मरेको मरेई हुनुभएन् तेस्रो दिनमा मृत्यु बाट बौरेर उठ्नु भयो । त्यसैको सम्झना गर्दै छौँ हामी । यसलाई हामीले भव्यताको साथ सम्पन्न गर्नुपर्छ । ’
नेपालमा १४ हजार भन्दा बढी चर्च र ३० लाख भन्दा बढी ख्रीष्टियन राष्ट्रिय ख्रीष्टियन महासंघले जनाएको छ ।














