‘पर्वत समाज अमेरिका कप’ भलिवल : बाग्लुङ्ग, रिजउड र कोलम्वस सेमीफाइनलमा

बाल्टिमोर, मेरिल्याण्ड / बाग्लुङ्ग समाज ए टिम मेरिल्याण्ड , रिजउड न्यूयोर्क र कोलम्वस टिम ‘पर्वत समाज अमेरिका कप’ भलिवल प्रतियोगिताको सेमीफाइनलमा पुगेका छन्।
मेरिल्याण्डको बाल्टिमोरमा (7904 Roseville blvd, Baltimore , MD, 21236) शनिवार सम्पन्न क्वाटरफाइनलमा स्थानीय बाग्लुङ्ग समाज ए टिमले सिनसिनिटी न्यूयोर्कलाई दुई शुन्यको सोझो सेटमा हरायो।
पहिलो सेट २५-१२ को स्कोरमा सहजै जितेको बाग्लुङ्ग एलाई दोस्रो सेटमा भने सिनसिनिटीले केही चुनौति दिएको थियो। दोस्रो सेट बाग्लुङ्गले २५-२२ ले जित्दै अन्तिम चारमा स्थान बनायो।
बाग्लुङ्गले अब फाइनलमा पुग्न आइतवार हुने सेमीफाइनलमा रिजउड् समाज न्यूयोर्कको सामना गर्ने छ।
शनिवार नै भएको अर्को क्वाटरफाइनलमा रिजउड्ले बाग्लुङ्ग समाज बी टिमलाई दुई शुन्यको सेटमा हराउदै अन्तिम चारमा स्थान पक्का गरेको हो। रिजउड्ले २५-१२ र २५-१७ नतिजा आफ्नो पक्षमा पारेको थियो।

अर्को क्वाटर फाइनलमा कोलम्बस भलिवल टिम सफल भयो। कोलम्बसले म्याङ्गदी समाज ए टिमलाई २५-१७ र २५-२२ को सेटमा हरायो।
कोलम्बसले अब उपाधी नजिक पुग्न सेमीफाइनलमा आयोजक पर्वत समाज ए टिम र योङ्ग क्लब बीचको विजेता सँग खेल्ने छ।
प्रतियोगिताको अन्तिम क्वाटरफाइनल पर्वत समाज ए र योङ्ग क्लब बीच आइतवार बिहान साढे नौ बजे हुने छ।
सेमिफाइनल र फाइनल खेल पनि आइतवार नै हुने आयोजकको भनाई छ।
दुई दिने प्रतियोगिता शनिवार बाट शुरु भएको हो। प्रतियोगतामा सहभागि १२ टिम बीच लिग कम नकआउटको आधारमा खेलाइएको हो। शनिवार नै लिग चरणका खेलहरु भएका थिए।

प्रतियोगितामा विजेता टिमका लागि पाँच हजार पाँच सय ५५ अमेरिकी डलर नगद पुरस्कार, मेडल र ट्रफि राखिएको छ। यस्तै दोस्रो हुने टिमले तीन हजार तीन सय ३३ अमेरिकी डलर नगद र मेडल पाउने छन्।
प्रतियोगिताको उद्घाटन सामाजिक अभियन्ता एवं पर्वतकै पूर्व सांसद ऋषिकेश तिवारीले गरेका थिए।
