संक्रमणकालिन न्याय सम्बन्धि विषय फास्ट ट्रयाकबाट टुङ्ग्याउन एमाले असहमत

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संक्रमणकालिन न्याय सम्बन्धि विषय फास्ट ट्रयाकबाट टुङ्ग्याउने विषयमा असहमति जनाएको छ।
प्रधानमन्त्रीसहित प्रमुख तीन दलका शीर्ष नेताहरूको सिंहदरबारमा बसेको बैठकमा सङ्क्रमणकालीन न्याय निरूपण सम्बन्धि विधेयकलाई फास्ट ट्रयाकबाट पारित गर्ने विषयमा प्रमुख प्रतिपक्ष दल एमालले असहमति जनाएको छ ।
शनिवार सभामुखको कार्यालय सिंहदरबारमा बसेको तीन दलको बैठकमा प्रधानमन्त्री प्रचण्डले, प्रतिपक्ष दल एमालले फास्ट ट्रयाकबाट जान असहमति जनाएको बताए ।
उनले भने ‘सरकारमा हुनेहरूको कुरा चाहिँ फास्ट ट्रयाक्कबाट गरौँ भन्ने छ । प्रतिपक्षको कुरा चाहिँ समितिमा लगेर गरौँ भन्ने छ । त्यसको बीचको बाटो खोज्ने भन्ने पनि छ ।’
बैठकपछि पत्रकारसँग कुरा गर्दै एमाले अध्यक्ष ओलीले समितिमा लगेर छलफल गरिनुपर्ने बताए ।
उनले विधेयक समितिमा पठाउने विषयमा कुरा भएको जानकारी दिए ।
आजको बैठकले सङ्क्रमणकालीन न्याय निरूपण सम्बन्धी (टिआरसी) विधेयकलाई पारित गर्न समिति बनाउने कुरामा २८ गते मङ्गलवार बैठक बसेर निष्कर्षमा पुग्ने प्रधानमन्त्रीको भनाई छ ।
बैठकपछि कांग्रेस सभापति शेर बहादुर देउवाले बैठक सकरात्मक भएको प्रतिक्रिया दिए ।
सभामुख देवराज घिमिरेले, शीर्ष नेताहरुबीच संवादको बाटो खुलेको बताए ।
उनले उनले भने ‘सहमति र विमति भन्दा पनि नेताहरुको बीचमा आपसमा बसेर सामुहिक विषयमा कुराहरु अलि नभएको अवस्था थियो त्यसैले गर्दा उहाँहरुको बीचमा कुराकानी गराउनको लागि पहल गरियो । र कुराकानीको सुरुवात भएको छ ।’
त्यस्तै उनले नेताहरुबीच थप छलफल गरेर अघि बढ्ने सहमति भएको समेत जानकारी दिए ।
आज अपरान्ह सभामुख सहित तीन दलका शीर्ष नेताहरूबीच छलफल भएको थियो । छलफलमा प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली र काँग्रेस सभापति शेरबहादुर देउवा सहभागि थिए ।