‘पर्वत समाज अमेरिका कप’ अन्तरराज्य भलिवल प्रतियोगिता शनिवार देखि बाल्टिमोरमा,१२ टिम सहभागि
मेरिल्याण्ड, अमेरिका / ‘पर्वत समाज अमेरिका कप’ अन्तरराज्य भलिवल प्रतियोगिता शनिवार देखि बाल्टिमोरमा शुरु हुदै छ।
नयाँ वर्ष २०८० को उपलक्ष्यमा पर्वत समाज अमेरिकाले प्रतियोगिताको आयोजना गर्न लागेको हो। दुई दिने प्रतियोगितामा १२ टिम सहभागि हुने जनाइएको छ।
मेरिल्याण्ड राज्यको बाल्टिमोरमा (7904 Roseville blvd, Baltimore , MD, 21236) खेलहरु हुने छन्।
‘विहान नौ बजे उद्घाटन कार्यक्रम छ,एक डेढ घण्टाको कार्यक्रम पछि लगालग खेलहरु शुरु हुने छन्।’ पर्वत समाज अमेरिकाका अध्यक्ष रविन शर्माले समाज टाइम्स सँग भने।
शर्माका अनुसार १२ टिमले प्रतिस्पर्धामा भाग लिने छन्।’शुरुमा हामीले २० टिम सम्म खेलाउने भनेका थियौ तर केही राज्यका टिमले अन्तिम अवस्थामा आफुहरु आउन नसक्ने जनाए।’ शर्माले भने।
लिग कम नकआउटका आधारमा हुने प्रतियोगिताको उद्घाटन खेल सिनसोओट भलिवल क्लब र पर्वत समाज बीका बीच हुने छ।
यस्तै यस अगाडि प्रतियोगिताको प्रमुख अतिथि राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सना हुने भनिएकोमा त्यो पनि परिवर्तन भएको छ। ‘सदन चलिरहेकोले उहाँ आउने कुरा सम्भव भएन, अब सामाजिक अभियन्ता एवं पर्वतकै पूर्व सांसद ऋषिकेश तिवारी प्रमुख अतिथि हुनुहुनेछ।’ अध्यक्ष शर्माले भने।
प्रतियोगितामा विजेता टिमका लागि पाँच हजार पाँच सय ५५ अमेरिकी डलर नगद पुरस्कार, मेडल र ट्रफि राखिएको छ। यस्तै दोस्रो हुने टिमले तीन हजार तीन सय ३३ अमेरिकी डलर नगद र मेडल पाउने छन्।















