नयाँ क्रान्तिको सुरुआत गर्ने मोहन बैद्यको चेतावनी

काठमाडौं । नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य किरणले शहिदहरुको आहुति र विगतका आन्दोलनका जगमा उभिएर नयाँ क्रान्तिको सुरुवात गर्ने उद्घोष गरेका छन् ।
आफू नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी र धमेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमतबीचको एकता कार्यक्रममा उनले चुनौतीहरूलाई दृढताका साथ सामना गर्दै नयाँ क्रान्तिको सुरुवात गर्ने उद्घोष गरेका हुन् ।
उनले भने, ‘चुनौतिहरुलाई दृढताका साथ सामना गरेर क्रान्तिका झन्डालाई हामी उँचो बनाउने छौँ । नेपालको इतिहासमा जति पनि शहिदहरुले प्राणको आहुति दिएको छ, त्यो आहुतिको जगमा, विगतका आन्दोलनका जगमा उभिएर नयाँ क्रान्तिको सुरुवात गर्ने प्रतिवद्धता छ ।’
उनले चाँडै नेकपा मसालसँग पनि पार्टी एकता हुने बताए । मसालसँग वार्ता भइरहेको र चाँडै पार्टी एकता हुने उनको विश्वास छ ।
उनले भने, ‘हामीले मसालका कमरेडहरूसँग पनि वार्ता गर्यौँ । र उहाँहरूले तपाईंहरू अगाडि बढ्नुस् हामी पनि सल्लाह गरेर यो प्रक्रियामा सामेल हुन्छौं भन्नुभएको छ । हाम्रो आशा छ उहाँहरूलाई पनि पार्टी एकतामा आबद्ध गर्ने छौं ।’
उनले अन्य कम्युनिष्ट पार्टीलाई पनि एकता प्रक्रियामा आबद्ध गर्दै एकता महाधिवेशनमा जाने जानकारी दिए ।