एन्फाभित्र लफडै लफडा
काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाभित्रको चरम राजनीतिक गुटबन्दी छताछुल्ल नै छ । अध्यक्ष पंकजविक्रम नेम्बाङको काम गर्ने शैलीका कारण अहिले उनको सहयोगी भन्दा पनि विरोधीहरू बढ्न थालेका छन् । कार्यसमितिमा बहुमत पुग्न अप्ठेरो हुने अवस्थामा पुगेका अध्यक्ष पंकज र महासचिव किरण राईसहितको टिमले फिफाको विन्डोमा थ्री नेसन्स कप प्रतियोगिताको आयोजना गर्यो । भलै, यो प्रतियोगिताको उपाधि नेपालले जित्न सफल भए पनि धेरै प्रश्नहरू उब्जाएको छ ।
सहिद स्मारक ए डिभिजन लिगको पाँचौं चरणपछि नेपाली टिम बनाएर हालै जिम्मेवारी सम्हाल्न आएका इटालियन प्रशिक्षक भिन्सेन्ट अल्बर्टो एनेसले नतिजाका आधारमा सन्तोष गर्ने ठाउँ भए पनि आम नेपाली फुटबल समर्थकहरू भने पछिल्लो समयको प्रदर्शनबाट सन्तोष हुने ठाउँ भने छैन । नेपालभन्दा कमजोर मानिएका भुटान र लाओसलाई बोलाएर प्रतियोगिता गर्ने अनि उपाधि जित्यो भनेर खुसी हुनुभन्दा पनि पछिल्लो समय नेपाली फुटबलको व्यावसायिकता मर्दै गएको र खेलाडीहरू पनि भटाभट विदेश पलायन हुनु अहिलेको मुख्य समस्या बन्दै आएको छ । अहिलेसम्म राष्ट्रिय टिमबाट खेलेका स्टार ४१ जना खेलाडीहरू विदेश पलायन भएका छन् ।
एन्फाले खेलाडीहरूलाई व्यस्त बनाउने कुनै कार्ययोजनाहरू ल्याउन नसक्नु र ए डिभिजन लिग पनि झारा टार्ने खालको हुँदा खेलाडीहरू ढुक्कसँग यतै बस्न सक्ने अवस्था देखिएको छैन । अझ अहिले त फुटबलका पदाधिकारीहरू नै एकअर्काविरुद्ध खनिने अवस्था आएकाले यहाँ भएका फुटबलरहरू पनि कसरी आफ्नो करियर अघि बढाउने भन्ने दोधारमै रहेका छन् ।
खेलकुद राम्रो हुनका लागि खेल संघ नै राम्रो र बलियो हुनुपर्छ । तर अहिले आपसी छिनाझम्टीले नेपाली फुटबल बदनाम बन्दै गएका बेला आशा गर्ने अवस्था पनि कमाजोर रहेको फुटबलका जानकारहरू नै बताउन थालेका छन् ।
एन्फाको शनिबारमात्रै आकस्मिक रूपमा केन्द्रीय कार्यसमितिको बैठक बोलाइएको थियो । तर, विगतदेखि नै असन्तुष्ट रहेको अर्को पक्षले वहिष्कार गरेको थियो ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा ९ बजे बोलाइएको बैठकमा कोरम पुग्ने अवस्था नभएपछि पौने ११ बजेतिर ‘जुम’ लिंक पठाइएको थियो । अहिले पनि एन्फाको नेतृत्व कार्यसमितिलाई छलेर अघि बढ्न खोजेकाले आफूहरूले बैठक बहिष्कार गरेको उपाध्यक्ष दीर्घबहादुर केसीले बताएका छन् ।
यसअघि फिफा कंग्रेसमा जानका लागि ठिक्क परेका उपाध्यक्ष विराटजंग शाही एयरपोर्टबाट फिर्ता भएको घटना पनि सार्वजनिक भएको थियो । वर्तमान नेतृत्वले गरेका गल्तीहरूबारे कुनै पनि कुरा बाहिर नभन्ने सर्तमा उनलाई फिफाको बैठकमा सहभागी गराउने भनिएको थियो । तर उपाध्यक्ष शाहीले यहाँका गतिविधिहरूबारे निरन्तर आवाज उठाएपछि अन्तिम समयमा उनको नाम काटिएको थियो । फलस्वरूप शाही एयरपोर्ट पुगेर घर फर्किएका थिए ।














