एमालेले बारामा महतोलाई सघाउने, चितवनमा न्यौपाने तनहुँमा खनाल उम्मेदवार

काठमाडौं । नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले नेकपा एमालेले वैशाख १० मा हुने उपनिर्वाचनका लागि २ क्षेत्रका लागि उम्मेदवार छनोट गरेको बताएका छन् ।
शनिबार बसेको एमाले केन्द्रीय सचिवालय बैठकको निर्णय सार्वजनिक गर्दै उनले चितवन २ मा एमाले जिल्ला अध्यक्ष रामप्रसाद न्यौपाने र तनहुँ १ मा सर्वेन्द्र खनाललाई उम्मेदवार उठाउने निर्णय गरेको र बाराको लागि भने छलफल जारी नै रहेको बताए । उनले छलफल जारी रहेको बताए पनि बारामा लोकतान्त्रिक समाजवादी पार्टीबाट उम्मेदवार बन्न लागेका राजेन्द्र महतोलाई सघाउने बुझिएको छ ।
उनले भने, ‘तनहुँ क्षेत्र नं. १ मा सर्वेन्द्र खनाललाई, चितवन २ बाट राम प्रसाद न्यौपानेलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । बारा २ मा भने आज र भोलि थप छलफल गर्न आवश्यक भएको देखेका छौ । भोलि सम्म बारा २ को निर्णय गर्ने जिम्मेवारी केन्द्रीय हेड्क्वाटरलाई दिएका छौ ।’
उनले आजको बैठकमा मिटर व्याज पीडित नागरिकहरुको समस्या र वर्तमान आर्थिक संकटको सम्बन्धमा पनि छलफल भएको बताए ।
उनले भने, ‘मिटर व्याजबाट पीडित नागरिकहरु काठमाडौं आएर धर्नामा बसेको र शारिरिक, मानसिक पीडाका कारण विमारि पर्दै गएको स्थितिप्रछि नेकपा एमाले ध्यानाकर्षण भएको छ ।
मुलुकको प्रचलित कानुन र वित्तिय प्रणालीका मान्यता विपरित सर्वसाधारण अप्ठ्यारोमा पारेर मिटर व्याज असुल गर्नु गैर कानूनी हो । यसको कारण आत्म हतया गर्नु परेको यथार्थलाई नेपालको संविधानमा उल्लेख गरिएको समाजवाद उन्मुख राज्य र सामाजिक न्यायको सिद्धान्त विपरित छ र यस्तो समस्या समाधानमा ठोस कदम नचाल्नु सरकारको कमजोरी देखिएको छ ।’
उनले आर्थिक वर्षको ८ महिना सकिन लाग्दा समेत २२ प्रतिशतभन्दा बढि पुँजी खर्च हुन नसक्नु, विकास निमार्णका कामहरु ठप्प हुनु सरकारको कमजोरी देखिएको पनि उल्लेख गरे ।
यसअघि गत मङ्सिरमा भएको प्रतिनिधि सभा निर्वाचनमा खनाल काठमाडौँ क्षेत्र नम्बर ६ बाट पराजित भएका थिए । उनलाई एमालेले दोस्रो पटक उम्मेदवार बनाउन लागेको हो ।