मन्त्रालयको महत्व र जनताको आकाङ्क्षालाई बुझेर काम गर्ने नवनियुक्त रक्षा मन्त्री खड्काको प्रतिबद्धता
काठमाडौं । नवनियुक्त उपप्रधान तथा रक्षा मन्त्री पूर्णबहादुर खड्काले मन्त्रालयको महत्व र जनताको आकाङ्क्षा बुझेर काम गर्ने प्रतिबद्धता जनाएका छन् ।
शुक्रबार शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण लगत्तै सिंहदरबारमा पदभार ग्रहण गरेका उनले मुलुक र जनताको सुरक्षा र समसामयिक आवश्यकतालाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाएका हुन् ।
उनले भने ‘मुलुक र जनताप्रति समर्पित भएर पूर्ण तरिकाले नेपालको माटोको रक्षा गर्ने जिम्मेवारी पाएको छु र त्यसको महत्त्वलाई बुझेर कामहरू समाल्नेछु । ’
सबैले सबैलाई सम्मान र सहयोग गर्दै मन्त्रालय अगाडी बढाउने उनको भनाई छ । उनले गठबन्धन सरकारको न्यूनतम साझा कार्यक्रम केही दिनमै सार्वजनिक हुने र त्यसकै आधारमा सरकार अघि बढ्ने पनि बताए ।














