दिल्ली लगेर नौ युवतीलाई वेश्यावृतिमा लगाउने तीन अभियुक्त पक्राउ
काठमाडौं । काठमाडौंको मनोरञ्जन क्षेत्रमा काम गर्ने युवतीलाई भारत लागि वेश्यावृतिमा लगाउने समुहका तीन सदस्यलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्ने मकवानपुर भिमफेदी गापा–९ की २० वर्षीय सम्झना भनिने सेन्जी तामाङ, धादिङ धुनबेशी नपा–२ का २५ वर्षीय भुवन तामाङ र उनकी श्रीमती २० वर्षीय शुष्मा मग्राती रहेका छन् । नेपाल प्रहरीका मानव बेचबिखन अनुसन्धान ब्यूरोले उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुले काठमाडौंका बार, क्लव, क्याफे, दोहोरी साँझमा काम गर्ने ९ युवतीलाई विभिन्न प्रलोभनमा पारी भारतको दिल्ली पु¥याएका थिए । त्यसपछि उनहरुलाई वेश्यावृतिमा लगाएका थिए ।
व्यूरोका प्रवक्ता एसपी कृष्ण पंगेनीले नौ युवतीलाई प्रलोभनमा पारी भारतको दिल्लीमा वृश्यावृतिमा लगाउने तीन अभियुक्त पक्राउ परेको बताए । उनले भने,‘काठमाडौंका बार, क्लब, क्याफे, मासज सेन्टर लगायतका मनोरञ्जन क्षेत्रमा काम गर्ने युवतीलाई विभिन्न प्रलोभन दिएर दिल्ली लगेको भेटियो । उनीहरुलाई दलालले वेश्यावृतिमा लगाउने गरेको देखिन्छ । यसक्रममा नौ युवतीको उद्धार भएको छ । घटनामा संलग्न तीन अभियुक्त पक्राउ परेका छन् ।’
प्रहरीका अनुसार पक्राउ परेका अभियुक्तले युवतीहरुलाई दिल्लीस्थित बिभीन्न होटल, रेष्टुरन्ट, फेन्सी पसलमा आकर्षक काम हुने प्रलोभन दिने गर्थे । लोभिएका युवतीहरुलाई उनीहरुले नेपालगंजको जमुनाहा नाका हुँदै दिल्ली पु¥याउँथे । नाका पार गर्न युवतीलाई जुसमा बेहोस पार्ने औषधी मिसाएर खुवाउँथे । जसका लागि उनीहरुले निजी कार प्रयोग गर्थे । प्रहरीले सोधि हाल उपचार गर्न भारत जान लागेको बताउँथे ।
दिल्ली पुगेपछि प्रत्येक युवतीलाई भारती सिम कार्ड उपलब्ध गराउँथे । युवतीको नाममा फेसबुक आइडी आफै खोलिदिन्थे । पासवर्ड भने आफै राख्थे । जसमार्फत उनीहरु युवतीको गतिविधिमा निगरानी गर्थे । युवतीको आकर्षक फोटो खिच्थे । ‘ह्वाट्स एप’मार्फत युवतीको फोटो ग्राहकलाई पठाउँथे । सोही फोटोका आधारमा मोलमोलाई चल्थ्यो । कुरा मिलेपछि युवतीलाई ट्याक्सि चढाएर ग्राहक बस्ने होटल तथा घर पठाइदिन्थे । रकम भने उनीहरुले अनलाइनमार्फत नै लिन्थे । व्यूरो प्रवक्ता एसपी पंगेनीले युवतीहरुलाई वेश्यावृतिका लागि दिल्ली बाहेकका सहरमा पनि पु¥याउने गरेको बताए ।
उनले भने,‘यीनीहरुले दिल्लीमा युवती राख्न छुट्टै फ्ल्याट भाडा लिएका रहेछन् । युवतीहरुलाई ग्राहक बस्ने होटल तथा घरमा लगिदिने रहेछ । रकम लेनदेन भने अनलाइनबाटै हुने रहेछ । शक्ति समुहको सहयोगमा हामीले नौ युवतीको युद्धार गरेका छौं ।’
प्रहरीका अनुसार एक युवतीले महिनामा एक सय ८० सम्म ग्राहकको चित्त बुझाई दिनुपथ्र्यो । युवतीको निगरानी गर्न उनीहरुले प्रत्येक कोठामा सिसि क्यामेरा फिट गरेका थिए । उनीहरुलाई दिल्ली किशनगढ जावीढावास्थित भाडाको घरमा राखिएको थियो ।
















