गृहराज्यमा एनआरएनए अमेरिका उपाध्यक्ष दिलु पराजुलीको उद्घोष ‘नेतृत्वका लागि पछि हट्ने छैन’
राजु तिमिल्सिना
केन्टकी, अमेरिका / गैर आवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) अमेरिकाका उपाध्यक्ष एवं सदस्यता विस्तार कमिटीका संयोजक दिलु पराजुलीले भावी नेतृत्वको दौडबाट आफु पछि नहट्ने बताएका छन्।
सदस्यता वितरण अभियानको आफ्नै गृहराज्य केन्टकीबाट आइतवार साँझ औपचारिक रुपमा शुरु गर्दै संयोजक पराजुलीले सबै गैरआवासीयहरुको विश्वास भयो भने आफु भावी नेतृत्व लिन पछि नपर्ने बताए।
‘हो मेरो आफ्नो यो अभियानमा जादै गर्दा मेरो पनि आफ्नो योजनाहरु, उद्देश्यहरु, नेतृत्व सम्वन्धी कुराहरु छन् , पूर्ववक्ता साथीहरुले भन्नु भएको छ, धन्यवाद पनि भन्न चाहान्छु उहाँहरुले अध्यक्षको क्यान्डिडेट तपाई हो अगाडि बढ्नुस हामी सहयोग गर्छौ भन्नु भएको छ।’
पराजुलीले अगाडि भने, ‘यदी त्यस्तो समय अनुकुल र सबै गैरआवासीय नेपालीहरुको म प्रतिको धारणा विश्वासको भयो भने म त्यसको लागि पछि हट्ने छैन भन्ने कुरा कमिटमेन्ट गर्न चाहान्छु।’
उनले तर अहिलेको आफ्नो मुख्य उद्देश्य जति सक्दो धेरै सदस्य बनाउने रहेको बताए।

दुई वर्ष भन्दा बढीको प्रतिक्षा पछि एनआरएनए अमेरिकाले मार्च ६ तारिक देखि सदस्यता खुल्ला गरेको थियो।
सदस्यता खुल्ला गरेको तीन साता भित्र जम्मा एक सय बीस जनाले मात्र आवेदन दिएको परिस्थितिमा संयोजक पराजुलीले आइतवार देखि आफ्नो गृहराज्य केन्टकीको लेक्जिन्टनबाट विषेश अभियान शुरु गरेका हुन्।
एनआरएनए अमेरिका पहिलो पटक अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी) को एमआईएस प्रणालीबाट सदस्यता बनाउदै छ।
एनआरएनए अमेरिकाको सदस्यता बन्न ‘एप’ बाट मात्र सम्भव छ। सदस्यता लिने अन्तिम दिन मे महिना को १५ तारिख सम्म तोकिएको छ।
समय छोटो भएको र एमआईएस प्रणालीका बारे धेरै नै जिज्ञासा उठेकाले आफुहरुले विषेश अभियान नै शुरु गरेको संयोजक पराजुलीले बताए।
एक सय पचास भन्दा बढीको उपस्थिति रहेको कार्यक्रममा उनले अब देखि एनआरएनए किन चाहियो भन्ने प्रश्न नगर्न आग्रह गरे। उनले मातृभूमिलाई सहयोग गर्न पनि संस्था मार्फत सहज हुने दावी गरे।
‘हामीमा सबैमा खेल्ने गर्छ एनआरएनए किन चाहियो, तर म भन्छु हामी समृद्दि हुँदै गर्दा, विदेशमा बस्दा हामी एनआरएनएहरुलाई समस्या पर्दा एकले अर्कोलाई सहयोग गरिरहेको हुन्छ। व्यक्तिगत भन्दा संस्था मार्फत गयौ भने समस्याको समाधान हामी गर्न सक्छौ।’ पराजुलीले भने।
उनले अगाडि भने, ‘यो अभियान जायज छ, चाहे दोहोरो नागरिकताको कुरा गरौ वा दोहोरो करको कुरा गरौ यो संस्थाबाट हामी नेपाल सरकारसँग लभिङ्ग गर्न सक्छौ।’
उनले एक जना व्यक्ति आफै गरेर बोल्दै गर्दा त्यहाँ त्यसको सुनुवाई नहुने तर संस्थागत हिसावबाट अगाडि बढ्दै गर्दा हाम्रो सुनुवाई हुने गरेको आफ्नो अनुभव पनि कार्यक्रममा सुनाए।
उपाध्यक्ष पराजुलीले मातृभूमिलाई संगठित रुपमा योगदान गर्न संस्थाको सदस्य बन्न जरुरी रहेको दाबी गरे।
पराजुलीले विगतको भन्दा धेरै सदस्य बताउने बताए। अमेरिका अहिले विश्वमा नै धेरै सदस्य रहेको एनसीसी हो । बीस हजार भन्दा बढी अहिले एनआरएनए अमेरिकाको सदस्य छन्।
‘आउदै गरेको कार्यसमितिलाई सम्मानित सदस्यहरु हस्तान्तरण गर्न म चाहान्छु। अब आउने हप्ता देखि अन्य राज्यमा पनि मेरो भ्रमण हुने ।’ उनले भने।
कार्यक्रममा नेपाली जन सम्पर्क समिति केन्टकी च्याप्टर सभापति सुधीर ओझा, प्रवासी मञ्च नेपालका केन्टकी च्याप्टर सभापति टेकराज भट्टराईको पनि उपस्थिति थियो।
यस्तै स्थानीय समाजका अग्रज शेष नारायण तिवारी, एन्काका वरिष्ठ उपाध्यक्ष श्याम पराजुली , चर्चित कलाकार इनास अमेरिकाका वरिष्ठ उपाध्यक्ष गोपाल नेपाल, सुदूर पश्चिम समाज केन्टकीका सभापति उद्धव उप्रेती लगायतको पनि कार्यक्रममा उपस्थिति रहेको थियो।
















