सन्दीप लामिछानेलाई क्रिकेट खेल्न विदेश जान सर्वोच्च अदालतको अनुमति
काठमाडौं / सर्वोच्च अदालतले सन्दीप लामिछानेलाई क्रिकेट खेल्न विदेश जान अनुमति दिएको छ। यस्तै अब सन्दीपलाई पुन पक्राउ नगर्न पनि सर्वोच्चले भनेको छ।
सर्वोच्चका न्यायाधीसद्वय सपना मल्ल प्रधान र कुमार चुडालको आइतवाको संयुक्त इजलासले सन्दीप माथिको बन्देज फुकुवा गरेको हो।
नाबालिका बलात्कारको आरोप खेपिरकेका सन्दीपलाई विदेश जान रोक लाग्ने शर्त सहित उच्च अदालत पाटनले बीस लाख रुपैया धरौटिमा रिहा गरेको थियो।
उच्च अदालत पाटनको सो बन्देज बिरुद् सन्दीप सर्वोच्च पुगेका थिए। सर्वोच्चले खेल भएको समय सन्दीपलाई जुनसुकै देश जान दिन भनेको छ।
यस्तै सन्दीपले खेल समाप्त भएपछि बाटोको म्यादबाहेक १५ दिनभित्र अदालतमा उपस्थित भएर जानकारी गराउनुपर्ने छ ।
सर्वोच्चले सन्दीपको राहदानी फुकुवा गर्न पनि भनेको छ।
सन्दीपको मुद्दा फास्ट ट्र्याकबाट सुनुवाई गर्न पनि जिल्ला अदालतलाई सर्वोच्चले आदेश दिएको छ।
फैसलामा यो मुद्दा जबरजस्ती करणीको भएको र सन्दीप एक राष्ट्रिय–अन्तर्राष्ट्रिय खेलाडी भएकाले सबैको चासो रहेको हुँदा छिटो किनारा लगाउनुपर्ने उल्लेख छ ।
साथै सर्वोच्चले बन्द इजलासमा सुनवाइ भएकाले आदेशको प्रतिलिपी जाहेरबाला, प्रतिवादी र वकिलहरुबाहेक अरुलाई उपलब्ध नगराउन तथा सामाजिक सञ्जालमा नराख्न पनि आदेश दिएको छ ।
सर्वोच्च अदालतले क्रिकेटर सन्दीप लामिछानेलाई पुन: पक्राउ गर्नु नपर्ने फैसला पनि गरेको छ ।
यसअघि धरौटीमा छाड्ने पाटन उच्च अदालतको आदेशविरुद्ध सरकारी पक्षले पुनरावेदन गरेको थियो । सन्दीपले पनि विदेश जान लगाइएको प्रतिबन्ध फुकुवाको मागसहित पुनरावेदन गरेका थिए । सर्वोच्चले दुवै मुद्दा एकै ठाउँमा राखेर सुनुवाइ गरेको थियो ।