छोरीले सुटुक्क घर बेचेपछि ८१ बर्षीय वृद्ध अलपत्र, गुहार माग्दै लेखे प्रधानमन्त्री दाहाललाई पत्र
काठमाडौं । काठमाडौं मनपा–४ धुम्बाराहीका ८१ बर्षीय सर्वजीत सिंह तामाङले आफ्नै कान्छी छोरीबाट आफू अन्यायमा परेको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पत्र लेखेका छन् ।
न्यायको याचना गर्दै उनले छोरी विरुद्धको पत्र प्रधानमन्त्री दाहालको सचिवालयमा समेत दर्ता गराएका छन् । प्रधानमन्त्री दाहालको सचिवालयमा ११ फागुनमा दर्ता गरेको पत्र अनुसार उनको नाममा रहेको घरजग्गा कान्छी छोरी कुसुम लामा तामाङले बिना जानकारी सुटुक्क बेचेकी थिइन् । आफ्नो नाममा रहेको घरजग्गा छोरीले बिना जानकारी बेचिदिएपछि अलपत्र परेको उजुरीमा उल्लेख छ ।
उजुरीमा भनिएको छ,‘जीवनमा पारिवारिक खुसी नै सबैभन्दा ठूलो सन्तुष्टि ठानेर मैले १० वर्षअघि मेरो नाममा रहेको घर कान्छी छोरी कुसुम लामा तामाङको नाममा राखेको थिए । तर, मेरो जीवनमा तिनै छोरीले घात गरिन् । मलाई थाहै नदिइ सो घरजग्गा बेचिदिइन् । पाँच करोड ६० लाख रुपैयाँमा म बसिरहेको घर एकलौटी रुपमा बेचिदिइन् ।’
सर्वजीत थाइ एयरवेजमा काम गर्थे । सोही कम्पनीबाट आर्जन गरेका रकमले उनले घर घरघडेरी जोडका थिए । विश्वासमा परेर उनले जीवनभरको कमाइबाट जोडेको घरजग्गा छोरी कुसुमको नाममा गरेका थिए । उनले बैंकको ऋणबाट उक्त घरजग्गा खरिद गरेका थिए । ऋण चुक्ता पछि छोरीले सुटुक्क घर बेचेको उनको भनाई छ ।
उनले उजुरीमा भनेका छन्,‘मेरो जीवनको महत्वपूर्ण समय थाइ एयरवेजको सेवामा बित्यो । एयरवेजको कमाइले मैले केही सम्पत्ति जोडेको थिएँ । काठमाडौंको गैरीधारामा जोडेको घरजग्गासमेत बेचबिखन गरी मैले काठमाडौं मनपा–४ धुम्वाराहीस्थित घर बनाएको थिए । त्यो घर मैले प्रभु बैंकबाट ऋण लिएर बनाएँ । सो ऋण मैले चुक्तासमेत गरेँ ।’
प्रधानमन्त्री दाहाललाई बुझाएको उजुरीमा छोरी कुसुम प्रभु ग्रुपअन्तर्गत उच्च पदमा कार्यरत छिन् । कानून नजान्ने भएको उल्लेख गर्दैआफू आधा दर्जन मुद्दामा जकेडिएको सर्वजीतको भनाई छन् । उनले आफूसँग मर्नु वा न्याय माग्नेबाहेक अरू कुनै बाटो नभएको जनाएका छन् । उनले छोरीले एकलौटी ढंगले आफ्नो घरजग्गा बेच्न नपाउने र सो घरको भाडासमेत आफूले पाउनुपर्ने पत्रमा लेखेका छन् ।
सर्वजीतले बिहीबार नै महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री र कानून, न्याय तथा संसदीय मामिलामन्त्रीलाई पनि पत्र लेखेको जनाएका छन् ।















