पोखरामा यतीको विमान दुर्घटना : अनुसन्धानमा क्यानडा सहभागी हुने

मोन्ट्रियल, क्यानडा / पोखरामा भएको यती एयरको विमान दुर्घटनाको छानविनमा क्यानडा पनि सहभागी हुने भएको छ।
क्यानाडाको यातायात सुरक्षा बोर्ड (टीएसबी) ले नेपालको आन्तरिक हवाई इतिहासमा सबै भन्दा धेरै मानविय क्षति भएको दुर्घटनाको अनुसन्धानमा भाग लिने भएको हो।
पोखरामा दुर्घटना भएको विमानको इन्जिनको डिजाइन र निर्माण क्यानडामा गरिएको भएकाले टीएसबीले अनुसन्धानमा भाग लिन लागेको रोयटर्सले जनाएको छ।
विमानको इन्जिन प्राट एन्ड ह्विटनी क्यानडाले बनाएको हो ।
काठमाडौंबाट उडेको विमान पोखरामा अवतरण गर्ने समयमा दुर्घटना भएको थियो। सफा मौषमका बीच पनि विमान सेति नदीको खोचमा झरेको थियो।
विमानमा चालक दलका चार सदस्य सहित ७२ यात्रु थिए। दुई यात्रुको शव अझै भेटिएको छैन।
रेल, समुद्री र हवाई जहाज दुर्घटनाहरूको अनुसन्धान गर्ने टीएसबीका प्रवक्ताले सहभागिताको हद निर्धारण गर्न बाँकी रहेको बताएका छन्।
खोजकर्ताहरूले सोमबार ककपिट भ्वाइस रेकर्डर र उडान डेटा रेकर्डर फेला पारेका छन्। यी उपकरणले अनुसन्धानकर्ताहरूलाई दुर्घटनाको कारण पत्ता लगाउन मद्दत गर्न सक्ने बताइएको छ।
अन्तर्राष्ट्रिय उड्डयन नियम अनुसार, विमान डिजाइन र निर्माण भएको देशको दुर्घटना अनुसन्धान एजेन्सी स्वत: अनुसन्धानको हिस्सा हो।
नेपाल नागरिक उड्डयन प्राधिकरणले दुर्घटनापछि देशमा सञ्चालित सबै एटिआर ७२ र एटीआर ४२ विमानको निरीक्षण गरेको र त्यसमा कुनै प्राविधिक त्रुटि नभेटिएको सोमबार विज्ञप्तिमा जनाइएको छ ।
हाल देशमा धेरै एयरलाइन्ससँग १६ वटा एटीआर ७२ र तीन एटीआर ४२ विमान छन्, उड्डयन प्राधिकरणका एक अधिकारीले भने।
नेपालको प्रमुख पर्यटकिय शहर, रमणीय अन्नपूर्ण हिमालको प्रवेशद्वार पोखरामा भएको दुर्घटनामा परेको विमानमा ५७ नेपाली, पाँच भारतीय, चार रुसी, दुई दक्षिण कोरियाली र अर्जेन्टिना, आयरल्याण्ड, अष्ट्रेलिया र फ्रान्सका एक–एक जना सवार थिए ।