पूर्वयुवराज्ञी हिमानीको उपस्थितिमा ‘शिक्षाका लागि एक रुपैयाँ अभियान’ सुरु
सुनसरी । पूर्वयुवराज्ञी हिमानी शाहले लायन्स क्लब अफ धरान पाँचकन्याले सुरु गरेको ‘शिक्षाका लागि एक रुपैयाँ अभियान’को शुक्रबार उद्घाटन गरेकी छन् । धरान–१५ बाझगरास्थित पूर्वाञ्चल ज्ञानचक्षु विद्यालयमा आयोजित अभियानको सुरुवात उनले रुद्राक्षका २ बिरुवा रोपेर गरेकी थिइन् । उक्त अवसरमा शाहले विद्यार्थीलाई पानी शुद्धीकरण गर्ने ७ सय ५६ वटा बोतलसहित शैक्षिक सामग्री, सेतो छडी र ब्यागसहित छात्रवृत्ति प्रदान गरिन् ।
शाहले धरान–१६ जनपथस्थित पूर्वाञ्चल बहिरा विद्यालयमा पढ्नेलाई कान सुन्ने उपकरण, कक्षा ७ र ८ का विद्यार्थीलाई एक वर्षका लागि विद्याल एवं खेलकुद पोसाक, शैक्षिक एवं खेलकुद सामग्रीहरू तथा धरान–१७ स्थित पञ्चकन्या माविका सुकुम्बासी बस्तीका विद्यार्थीलाई शैक्षिक सामग्री र कम्बल वितरण गरेकी थिइन् ।
विपन्न वर्ग, एकल महिला, शारीरिक अपांगता भएकालाई पनि कम्बल वितरण गरिएको थियो । संकलित रकमले बालबालिकालाई छात्रवृत्ति तथा शैक्षिक सामग्री प्रदान गरिएको अभियानका संयोजक सम्राट् श्रेष्ठले बताए ।
उनले अभियानअन्तर्गत ६ हजार कपी, स्नातकोत्तर अध्ययनरत एक दृष्टीविहीन पुरुष र एक महिलालाई पनि छात्रवृत्ति प्रदान गरिएको बताए । लायन्स क्लब पञ्चकन्याका अध्यक्ष लायन एकता श्रेष्ठले धरानबाट सुरु भएको यो अभियानलाई मुलुकभर सञ्चालन गर्ने लक्ष्य रहेको बताइन् ।














