श्रीलंकाका पुर्वराष्ट्रपतिद्वयलाई क्यानडाले लगायो भ्रमण प्रतिबन्ध
कोलम्बो । क्यानडा सरकारले श्रीलंकाका दुई पुर्व राष्ट्रपति महिन्दा गोटाबाया राजापाक्षलाई मुलुक भ्रमणमा प्रतिबन्ध लगाएको छ ।
गृह युद्दको समयमा मानवअधिकार हनन गरेको आरोपमा उनीहरूमाथि यात्रा प्रतिबन्ध लगाइएको हो । सन् २००९ मा महिन्दा राजापाक्ष टापु राष्ट्रको राष्ट्रप्रमुख र गोटाबायाले रक्षा मन्त्रालयको नेतृत्व गरेका बेला तमिल टाइगर्सको पृथकतावादी आन्दोलनलाई सैन्य कारबाहीका माध्यमबाट अन्त्य गरिएको थियो ।
अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूका अनुसार द्वन्द्वकालमा सेनाले अन्धाधुन्ध बमबारीलगायत कारबाही गर्दा ४० हजार तमिल अल्पसङ्ख्यक मारिएका थिए ।
पश्चिमा देशले श्रीलङ्को सैनिक नेतृत्वमाथि यात्रा प्रतिबन्ध लगाएको भएपनि शक्तिशाली राजपाक्ष परिवारका सदस्यमाथि कुनै किसिमको यात्रा निषेध जारी गरेको थिएन ।
राजपाक्ष परिवारमाथि प्रतिबन्ध लगाउने क्यानडा पहिलो मुलुक बनेको छ । “अन्तर्राष्ट्रिय कानून उल्लङ्घन गर्नेहरूविरुद्ध अन्तर्राष्ट्रिय दण्डहीनता अन्त्य गर्न क्यानडाले आज निर्णायक कदम चालेको छ,” विदेशमन्त्री मेलानी जोलीले मङ्गलबार जारी विज्ञप्तिमा भनेका छन् ।
दुवै दाजुभाइले आफूहरू पदमा रहँदा दशकौँ लामो गृहयुद्धका क्रममा भएका युद्ध अपराधको अनुसन्धान गर्न अन्तर्राष्ट्रिय दबाबको प्रतिरोध गरेका थिए ।
सन् २०१९ मा गोटाबाया राष्ट्रपति भएका थिए । देशमा व्याप्त चरम आर्थिक सङ्कटबाट क्रुद्ध भएका नागरिकको निरन्तरको विरोध प्रदर्शन तथा सरकारी निवासमा प्रवेश गरेर आन्दोलन चर्काएपछि राजीना गरेर पलायन भएका उनी सैन्य सुरक्षाको साथ सरकारी परिसरमा बसिरहेका छन् ।
यसैबीच, श्रीलङ्काको विदेश मन्त्रालयले बुधबार क्यानडाका कार्यवाहक राजदूतलाई बोलाएर क्यानडाको निर्णयप्रति असन्तुष्टि व्यक्त गरेको छ ।















