३ नेपाली र ४ विदेशी खेलाडीले नेपाल टी २० लिगमा स्पट फिक्सिङ् गरेको सीआइबीको प्रारम्भिक निष्कर्ष
|
Getting your Trinity Audio player ready...
|
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले नेपाल टी २० लिगमा स्पट फिक्सिङ् भएको प्रारम्भिक निष्कर्ष निकालेको छ ।
प्रारम्भिक अनुसन्धानमा तीन नेपाली र ४ विदेशी खेलाडी स्पट फिक्सिङमा संलग्न रहेको सीआइबीको प्रारम्भिक निष्कर्ष छ । बेटिङ र फिक्सिङमा नेपाल टी-२० लिगको व्यापारिक तथा रणनीतिक साझेदारीसहित सन्चालन अधिकार पाएको विवादित भारतीय कम्पनी सेभेन थ्री स्पोर्टसको संग्लग्नता भएको संकेत पनि मिलेको छ ।
स्रोतका अनुसार शंकाको घेरामा रहेका खेलाडीहरुसंग बयान लिने काम सकिइसकेको छ । साथै फिक्सिङ् प्रतियोगिताका सुरुका केहि खेलहरुमा फिक्सिङ भए पनि हल्ला हुन थालेपछि पछिल्ला खेलहरुमा भने ब्रेक लागेको स्रोतले जानकारी दिएको छ ।
एउटा खेलाडीले एउटा खेलमा स्पट फिक्सिङ गरेबापत १० लाखभन्दा कम लिनेगरेको अनुसन्धानमा पाइएको छ ।
नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गरेको फ्रेन्चाइज क्रिकेट प्रतियोगितामा सुरुवातदेखि नै बेटिङ र फिक्सिङको चर्चा सुरु भएको थियो । प्रतियोगितामा देखिएका अस्वभाविक नतिजा र केहि खेलाडीको अस्वभाविक प्रदर्शनबाट नै फिक्सिङका हल्लाहरु सुरु भएका थिए ।
९ पुसदेखि सुरु भएको प्रतियोगितामा फिक्सिङ्को शंका गर्दै गृहमन्त्री रवि लामिछानेले गत मंगलबार नेपाल टी–२० लिगमा भइरहेको भनिएको बेटिङ, सम्भावित फिक्सिङ र श्रम स्वीकृति विना विदेशी खेलाडी खेलाएकोबारे अनुसन्धान गर्न सीआईबीलाई निर्देशन दिएका थिए ।
बेटिङ र फिक्सिङको चर्चा धेरै हुन थालेपछि सन्चालन अधिकार पाएको सेभेन थ्रीका मालिक जतिन अहुवालिया गत सोमबार नै भारत पुगेका थिए । उनी भागेको भन्दै नेपाल क्रिकेट संघ (क्यान)ले सम्झौता खारेजीको प्रक्रिया सुरु गर्ने बताएको थियो ।












