नेपालको राजनीति तातिरहेको बेला आइपुगे नयाँ चिनियाँ राजदूत, विमानस्थलबाटै जारी गरे वक्तव्य
काठमाडौं । नेपालमा कम्युनिष्ट पार्टीहरुबीच एकिकरणको कुरा चलिरहेको बेला र प्रधानमन्त्रीले विश्वासको मत लिनुभन्दा २ दिन अघि पारेर चीनका नयाँ राजदूत चेन सोङ्ग कार्यभार सम्हाल्न काठमाडौं आइपुगेका छन् ।
नेपालको राजनीति चुनाव पछिको अवस्थामा निकै गरमराइरहेको समयमा नयाँ चिनियाँ राजदूतको आगमनले अझै संशय पैदा गरिदिएको छ ।
यसअघिकी चिनियाँ राजदूत हु यान्छीले एमाले र माओवादीको एकिकरणमा भूमिका खेलेको र अहिले पनि सोही प्रकारको माहोल भइरहँदा नयाँ चिनियाँ राजदूतको आगमनलाई निकै चासोका साथ हेरिएको छ ।
आइतवार बिहान काठमाडौं ओर्लिनसाथ सोङ्गले एअरपोर्टबाटै वक्तव्य जारी गरेर नेपाल-चीनबीचको सदियौं पुरानो सम्बन्धलाई अझ उचाइमा पुर्याउन भूमिका खेल्ने बताएका छन् ।
सामान्यतः कुनै पनि राजदूत आफ्नो कार्यभार सम्हाल्न नेपाल आउँदाकै दिन वक्तव्य जारी नगर्ने गरेको भए पनि यस पटक भने उनले ओलर्नासाथ वक्तव्य जारी गरेका छन् ।
यस क्रममा उनले चीन र नेपाल सरकारबीच भएका महत्वपूर्ण सहमतिलाई कार्यान्वयन गर्दै द्वीपक्षीय सम्बन्धलाई अझ प्रगाढ बनाउन भूमिका खेल्ने बताए ।
‘थोपा–थोपाले ट्यांकी भरिन्छ’ भन्ने नेपाली उखान र ‘सबैले दाउरा थपेपछि आगो बल्छ’ भन्ने चिनियाँ उखान उद्धृत गर्दै उनले नेपाल–चीन सम्बन्ध अझ कसिलो र मैत्रीपूर्ण बनाउन आफूले पनि त्यसैगरी योगदान दिने बताए ।
सबै क्षेत्रका नेपालीहरुबाट नजिक भएर काम गर्न चाहेको बताउँदै उनले नेपालको विकास, समृद्धि र चिरस्थायी मित्रतामा सहयोग गर्ने बताए ।
उनी आउनुभन्दा एकदिन अघि मात्रै पनि सत्तारुढ माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीबीच एकिकरणको लागि कार्यदल गठन भएको थियो ।















