अक्सिजन प्लान्टका लागि कबुल गरिएको रकम दिन एनआरएनए आइसीसीको अमेरिकालाई ताकेता
पेन्सिलभेनिया,अमेरिका/ गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी) ले राष्ट्रिय समन्वय परिषद् (एनसीसी) अमेरिकालाई अक्सिजन प्लान्ट परियोजनाका लागि कबुल अनुसारको बाँकी रकम पठाउन ताकेता गरेको छ।
आइसीसीका कोषाध्यक्ष त्रय लोक प्रसाद दाहाल, सुनिल शाह र फणीन्द्र पन्तद्वारा संयुक्त रुपमा पठाइएको पत्रमा बाँकी रकम एक सात भित्रमा पाठउन भनिएको छ।
‘यो एननीसी अमेरिकाले कोभिड-१९ राहत कोषको दोस्रो चरणको एनआरएनए अक्सिजन प्लान्ट परियोजनामा गरेको प्रतिबद्धता सँग सन्दर्भित छ, जस अन्तर्गत कूल ९९ हजार ६ सय ९९ अमेरिकी डलर ४० सेन्ट रकम वाचा गरिएको थियो, जसमध्ये ५० हजार डलर प्राप्त भइसकेको छ।’ आइसीसी कोषाध्यक्षत्रयको स्मरण पत्रमा अगाडि लेखिएको, ‘एनआरएनए आइसीसी तर्फबाट, ट्रेजरी टोलीले तपाईंलाई अमेरकी डलर ४९ हजार ६ सय ९९ र ४० सेन्टको बाँकी रहेको रकम यथाशीघ्र एनआरएनएको आधिकारिक बैंक खातामा जम्मा गर्न अनुरोध गर्दछ।’

एनआरएनए कोषाध्यक्षको पत्रमा नेपालमा चारवटा अक्सिजन प्लान्टहरू अस्पतालमा पठाइसकिएको र स्थापनाको काम जारी रहेको पनि उल्लेख छ।
एनआरएनएले अझै पनि विक्रेतालाई ६२ हजार अमेरिकी डलर तिर्न दायित्व रहेको, आयोजना सुस्त गतिमा अघि बढिरहेको छ, बजेट अभावका कारण लगभग रोकिएको पनि पत्रमा उल्लेख छ।
विक्रेताले लगातार भुक्तानीको लागि सोधिरहेको भन्दै एनआरएए अमेरिका बाहेक अन्य एनसीसीबाट बक्यौता प्राप्त भएको पनि पत्रमा भनिएको छ।
‘तसर्थ,एनआरएनए अमेरिकाले यो विषयलाई अत्यावश्यक मानेर यो हप्ता भित्रमा पैसा पठाइ सहयोग गरेमा हामी आभारी हुनेछौं।’ पत्रमा भनिएको छ।
‘ट्रेजरी टोलीले तपाईंलाई (एनआरएनए अमेरिका अध्यक्ष) र एनसीसी अमेरिकालाई धेरै पटक स्मरण इमेलहरू पठाएको छ। तर तपाई र टिमबाट कुनै जवाफ प्राप्त भएको देखिँदैन। हामी समयमै तपाईंको जवाफ र सकारात्मक प्रतिक्रिया प्राप्त गर्ने आशा गर्दछौं।’
तर एनआरएनए एनसीसी अमेरिकाका अध्यक्ष बुद्दि सुवेदीले बक्यौता रकम र आइसीसीका कोषाध्यक्षहरुको पत्रबारेमा अनविज्ञता जाहेर गरे।
अक्सिजन पाल्ट किन्ने पैसा दिन बाँकी रहेको भन्दै आइसीसीका कोषाध्यक्षहरुले ताकेता गरेका छन् रे नी भन्ने समाज टाइम्सको प्रश्नमा अध्यक्ष सुवेदीले भने,’छैन छैन् गरेको छैन ताकेता’
तपाईलाई पठाइएको भनिएको पत्र समाज टाइम्सलाई पनि प्राप्त भएको छ नी भन्ने अर्को प्रश्नमा अध्यक्ष सुवेदी भने, ‘त्यसको जानकारी छैन्, खै के हो, त्यो हेरौला मलाई त्यसको बारेमा थाहा भएन।’
भनेको तपाईहरुले नेपालमा जारी अक्सिजन प्लान्ट परियोजनाका लागि कुनै रकम दिनु पर्ने छैन् भन्ने समाज टाइम्सको अर्को प्रश्नमा अध्यक्ष सुवेदीले सोही कुरा दोहोर्याए, ‘हजुर त्यही त मेरो जानकारीमा केही छैन, अधिल्लो कार्यसमितिमा हामी निश्किने बेलामा जुन समय निर्वाचन भइसकेको थियो सपथ भएको थिएन हामी उपाध्यक्ष कै हैसियतमा भएको बैठकमा सुनिल जीले (एनआरएनए अमेरिकाका तत्कालिन अध्यक्ष सुनिल शाह) ५० हजार पठाइदिनु भएको हो त्यस पछिको कहाँ कस्को केहो, केही डिटेल हामी सँग छैन, बुझ्नै पर्ने हुन्छ।’
अध्यक्ष सुवेदीले थपे, ‘मेरो कार्यसमितिले कुनै कमिटमेन्ट गरेको छैन्, कुनै रकम दिन बाँकी पनि छैन्, अघिल्लो कार्यसमितिले गरेको बारेमा पनि हामीलाई जानकारी छैन अघिल्लो कार्यसमितिमा म पनि छु।’
अघिल्लो कार्यसमितिले गरेको निर्णय पनि तपाईलाई थाहा छैन भन्ने समाज टाइम्सको अर्को प्रश्नमा पनि सुवेदीले भने, ‘अहँ थाहा छैन बाँकी रहेको कुरा मलाई जानकारी छैन्।’
अध्यक्ष सुवेदीले आइसीसीको हरेक पत्रको आफुहरुले समयमा नै जवाफ दिने गरिएको पनि दावी गरे।
‘हजुरलाई मैले भने त उनीहरुले हामीले पठाएको एउटा चिठ्ठिको रिप्लाइ गरेको छैन तर आइसीसीको हरेक चिठ्ठिको हामीले जवाफ दिने गरेका छौ। तर पैसा दिनबाँकी छ भनेर चिठ्ठि आएको छैन्।’
अध्यक्ष सुवेदीले आइसीसी कोषाध्यक्षहरुको पत्र र अक्सिजन प्लान्टका लागि बक्यौता बारे अनविज्ञता जाहेर गरे पनि उनकै कार्यसमितिका कोषाध्यक्ष राजीव श्रेष्ठले भने पत्र प्राप्त भएको बताएका छन्।
‘चिठ्ठि त पाएका छौं अस्ति राति फणिन्द्र जी (आइसीसी कोषाध्यक्ष) सँग पनि कुराकानी भएको थियो, मैले म कुरा राख्छु अध्यक्ष र कार्यसमितिमा भने।’ समाज टाइम्स सँग कोषाध्यक्ष श्रेष्ठले भने।
तपाईको अध्यक्षले त पैसा तिर्न बाँकी बारेमा आफुलाई केही पनि थाहा नएको र पत्र पनि नपाएको भन्नु भएको छ त भन्ने प्रश्नमा कोषाध्यक्ष श्रष्ठले भने,’मलाई र उहाँलाई (अध्यक्ष बुद्दि सुवेदी) सीसी गरेर आइसीसीले चिठ्ठि पठाइएको छ उहाँले पठ्नु भएको छैन की, उहाँ व्यस्त भएर होला।’
कोषाध्यक्ष श्रेष्ठले आइसीसीले पत्र पठाए पनि बक्यौता तिर्न कठिन रहेको खुलसा गरे। ‘उठाउन सकियो भने त दिन सक्छौ होला तर उठाउने कसले ? हाम्रो भवनकै लागि भनिएको पैसा त आइसकेको छैन हामी सँग छुट्टै पैसा छैन कहाँ बाट ल्याएर पठाउने मलाई त थाहा छैन’
तर सबै मिल्ने हो भने त्यो असम्भव नरहेको पनि श्रेष्ठले बताए। ‘सबै मिलेर गर्ने हो भने सकिन्छ उठाउनलाई नसक्ने होइन पैसा तर कसले नेतृत्व लिने।’
बुद्दी सुवेदीले बोले झुट : मानवीय संवेदनामा पनि राजनीति ?
एनआरएनए अध्यक्ष बुद्दि सुवेदीले मानविय संवेदनामा पनि झुट बोलेको खुलेको छ। नेपालमा बन्ने अक्सिजन प्लानमा एनसीसी अमेरिकाले उपलब्ध गराउने भन्ने सहयोग बारेमा आफुलाई जानकारी नभएको बताए पनि सो सम्वन्धी निर्णय भएको बैठकमा सुवेदीले उपाध्यक्षको हैसियतमा बैठकमा सहभागिता जनाएको प्रमाण समाज टाइम्सले प्राप्त गरेको छ।
एनआरएनए अमेरिकाकै वेव साइडमा अहिले पनि बैठकको माइन्यूट छ।

यहाँ हेर्नुहोस एनआरएनए अमेरिकाको बैठकको पुरा माइन्यूट
अध्यक्ष सुवेदीले मानविय संवेदनाको विषयमा पनि राजनीति गरेको भन्दै उनकै टिममा पनि तिब्र आलोचना भएको छ। अर्को तर्फ काम गर्न नसक्ने भए पछि अध्यक्ष सुवेदीले एक पछि अर्को झुट बोल्ने गरेको बताइएको छ।
‘बुद्दिले आफ्नो कार्यकालमा विवाद भन्दा अरु के गरे ? उनको टिमको सदस्य हुँ भन्न पनि अप्ठेरो लाग्ने भइसक्यो, त्यत्रो हल्लीखल्ली गरे हचुवामा भवन खरिद गरे अहिले त्यो निल्नु न ओकल्नु भएको छ, भवनकै लागि त बोलेको पैसा उठाउन सकेका छैनन्, सुवेदी कार्यसमितिका एक उपाध्यक्षले समाज टाइम्स सँग भने,’अक्सिजन प्लान्टलाई कहाँ बाट उठाउनु उनी काम गर्न आएकै होइन अर्को तर्फ बुद्दि जीको नाममा पैसा नै उठ्दैन।’
बरिष्ठ उपाध्यक्ष कृष्णजीवी पन्तले अक्सिजन प्लान्टका लागि अमेरिकाले सहगोग पठाउने बारेमा निर्णय भएको बताए । निर्वाचन भइसके पछि नयाँ कमिटिले सपथ लिनु अगाडि तत्कालिन किमिटीको अन्तिम बैठकले निर्णय यस विषयमा निर्णय गरेको हो, म र बुद्दि सुवेदी दुबै जना उपाध्यक्षको हैतियतमा त्यो बैठकमा भाग लिएका हौ।’ पन्तले समाज टाइम्स सँग भने ‘निर्णय भएको हो तर त्यसमा लागिपर्न सकिएन्, यस बारेमा थप अरु कुरा अहिले केही टिप्पणी गर्दिन्।’
एनआरएनए अमेरिकाका अर्का उपाध्यक्षले राजनीतिक प्रतिसोधका कारण अध्यक्ष सुवेदीले अधिल्लो कार्यसमितिको निर्णय कार्यन्वयनमा नल्याएको दावी गरे।
‘समाचार लेख्दा मेरो नाम चै उल्लेख नगरिदिनु होला टिमको पनि कुरा छ, खासमा त्यो बेलाको बैठकमा यो कामको जस कसले लिने भन्नेमा नै विवाद थियो।’ बुद्दि सुवेदी कार्यसमितिकै एक उपाध्यक्षले समाज टाइम्स सँग भने, ‘तत्कालिन अध्यक्ष सुनिल शाहको अध्यक्षतामा भएको बैठकले गरेको निर्णय किन सफल बनाउने भनेर बुद्दि जीले आँखा चिम्लिएका हुन्, अर्को तर्फ सुवेदीले त्यत्रो पैसा उठाउने ल्याकत नै राख्दैनन।’
यसै बीच आइसीसीको शनिवार सम्पन्न पदाधिकारी बैठकमा पनि अक्सिजन प्लान्ट र एनसीसी अमेरिकाले दिनु पर्ने बक्यौता रकमका बारेमा ठुलै बहस भएको बताइएको छ।
‘आजको आइसीसीको पदाधिकारी बैठकमा पनि यो विषयमा ठूलै बहस भयो, एनसीसी अमेरिकाले पैसा रोक्यो भनेर कुरा उठ्यो, तत्काल एनसीसी समन्वय गरेर बाँकी पैसा उठाउने निर्णय गरेको छ।’ एक पदाधिकारीले समाज टाइम्स सँग भने।
स्मरणिय पक्ष बुद्दि सुवेदीले सदस्यता शुल्कको भुक्तानिका लागि पनि आइसीसी सँग ठुलै गलफ्ति गरेका थिए।















