पार्टी फुटेकै कारण दुईतिहाइ बहुमत गुमाएको ओलीको दाबी
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी विभाजन भएका कारण यस पटकको चुनावमा दुई तिहाइ बुहमत गुमाउनुपर्ने परिस्थिति आएको दाबी गरेका छन् ।
सांसदहरुलाई प्रशिक्षण दिदैं ओलीले आफ्नो कार्यकालमा असाधारण काम गरिएको दाबी समेत गरेका छन् । साथै उनले कम्युनिष्टहरु मजबुत बनिरहेको समयमा कमजोर बनाउनको लागि षड्यन्त्र समेत हुने गरेको तर्क समेत दिएका छन् । ओलीले २०१७ साल, २०५१ साल र २०७४ सालपछि शक्तिशाली हुँदा आफूहरूमाथि षड्यन्त्र भएको आरोप लगाएका छन् ।
उनले नेकपा हुँदा तत्कालीन अध्यक्ष पुष्पकमल दाहालले आफूविरुद्ध ल्याएको १९ बुँदे पत्रलाई त्यस्तै मानेकाछन् । उनले २०५१ को सरकारलाई ढाल्न सर्वोच्च अदालतका तत्कालीन प्रधानन्यायाधीश विश्वनाथ उपाध्यायको प्रयोग गरिएको पनि आरोप लगाए । उपाध्यक्ष उपाध्यायलाई जनविरोधी र प्रतिक्रियावादी भएको पनि उनले आरोप लगाए ।
‘विश्वनाथ उपाध्याय प्रधानन्यायाधीशबाट हामीमाथि निसाना साँधियो । उनी जनविरोध हुन् र प्रतिक्रियावादी हुन् । पार्टी लोकप्रिय हुँदा पार्टी फुटाइयो त्यस समयमा कति जानेर भए कति नजानेर भए । पार्टी फुट्यो । दुईतिहाई त्यस समयमा पनि आउने सम्भावना थियो । दुईतिहाइ नभए पनि बहुमत मजाले आउथ्यो,’ उनले भने ‘पछि कम्युनिस्ट पार्टीबीच चुनावी तालमेल गरेर पार्टी एकीकरण गरेर करिब दुईतिहाइ सिट ल्यायौं । अनेक ढंगको षड्यन्त्रले फालेका हामी मूल ढोकाबाट आयौं र सरकार बनायौं र चलायौं । त्यस समयमा पार्टी नफुटेको भए । हामी अझै ठूलो काम गर्दैथियौं गर्थ्यौ होला । अहिले चुनावमा आइपुग्दा दुईतिहाइ भन्दा बढी ल्याउथ्यौं । अहिलेसम्म चुनावमा आइपुग्दा कुनै बाँकी रहने थिएनन् ।’
उनले चुनावपछि अहिले नयाँ परिस्थिति सिर्जना भएको बताए । ‘अहिलेको स्थिति चुनावपछि जुन परिस्थिति आयो । नयाँ च्याप्टर सुरु भएको छ । मैले विश्वास लिएको छु हिजो कमीकमजोरी गरेका साथीहरूले पनि दोहोर्याउने छैनन् । माओवादीले कांग्रेस बोकेर के भयो । ३६ जितेको थियो १८ मा पुग्यो,’ उनले भने ।
कार्यक्रममा ओलीले एमालेसँग छुट्टिएर गएका र आफूहरूलाई चुनावमा टर्च बालेर खोज्नु पर्छ भन्नेहरु राष्ट्रिय पार्टी पनि बन्न नसकेको भन्दै नयाँ समीरकणलाई साथ नदिएको भन्दै आलोचना गरेका थिए ।’हिजो अस्ति नेकपा एस भन्नेको स्थायी कमिटी र पोलिटब्यूरो बैठक बसेर नयाँ सरकार बन्ने परिवर्तन ठीक छ भन्न समेत सकेको छैन,’ उनले भने ।
पार्टी एकताबारे ओलीको भनाइ थियो, ‘जसपासँग पनि पार्टी एकता गर्छु भनेको छ । एमाले र माओवादीसँग पनि एकता गर्छु भनेको छ । एमाले र जसपालाई एकै ठान्छ ।’ बरु नेमकिपाले एक सांसद हुँदा पनि आफ्नो अडान नछाड्ने पार्टी रहेको उनको तर्क थियो । तर एकीकृत समाजवादीले स्पष्ट अडान नराखेको तथा कांग्रेसलाई समेत बोकिराखेको ओलीको टिप्पणी थियो ।















