रवी लामिछानेको नागरिकता विवादमा सर्वोच्चले दिएन अन्तरिम आदेश, पद यथावत रहने
|
Getting your Trinity Audio player ready...
|
काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवी लामिछानेको नागरिकता सम्बन्धि मुद्दामा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । अदालतले अन्तरिम आदेश नदिएसंगै उनको सांसद पदका साथै मन्त्री पद पनि यथावत रहने छ ।
शुक्रवार कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की सहित न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमानसिंह राउतको संवैधानिक इजलासले लामिछानेको नागरिकताको विषयमा परेको रिट निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।
सर्वोच्च अदालतको यो आदेशसँगै लामिछाने विरुद्धको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन भए पनि तत्कालका लागि उनको सांसद पद यथावत रहने भएको हो । साथै उपप्रधान र गृहमन्त्री पद समेत कायम रहनेछ ।
अमेरिकी नागरिकता लिएका लामिछानेले त्यताको नागरिकता त्यागे पनि फेरि नेपाली नागरिकता नलिएकाले उनको नागरिकता कायम नरहेको दावी सहित सर्वोच्च अदालतमा रिट निवेदन परेको थियो ।
रिट निवेदकले लामिछानेलाई मुद्दाको किनारा नलागेसम्म सांसदको रुपमा काम गर्न नदिन भन्दै अन्तरिम आदेशको माग गरेका थिए । तर सर्वोच्चले निवेदकको माग बमोजिम आदेश दिन अस्वीकार गरेको हो ।








